संक्रमण भेटिएको वीरगन्जको छपकैया क्षेत्र सिल

  चैत ३०, २०७६

वीरगन्ज, चैत ३० : वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले यहाँको मस्जिदमा बसिरहेका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोभिड १९ देखिएको पुष्टि गरेपछि स्थानीय प्रशासनले उक्त क्षेत्रलाई सिल गरि संक्रमति व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी थालेको हो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम नेपाली सेनाको टोलीले थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयपछि उक्त क्षेत्र सिल गर्न सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । ‘छपकैया र वरिपरिका क्षेत्र सिल गरेका छौँ,’ बस्नेतले भने, ‘सम्पर्कमा आएकाहरुको टेस्ट पनि गरेका छौं ।’

वीरगन्जमा कोभिड १९ का ३ जना संक्रमित फेला परिसके पनि हालसम्म यहाँ कोभिड विशेष अस्पताल स्थापना भएको छैन । नारायणी अस्पतालका चिकित्सक र जिल्लाका राजनीतिक अगुवाले २ हप्ता अगाडि देखि नै कोभिड विशेष अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।

सुरक्षा समितिको आइतबारको बैठकले एक नीजि अस्पताल भाडामा लिएर कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रजिअ बस्नेतले बताए । जिल्लाका सरोकारवाला निकाय र केही नीजि अस्पतालका सञ्चालककै रोहवरमा छलफल अगाडि बढाइएको उनले बताए ।

उच्च जोखिममा रहेको सीमावर्ती सहरमा ३ जना संक्रमित फेला परेको झन्डै २४ घन्टा बित्नै लाग्दा पनि स्थानीय प्रशासनले अग्रसरता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफूले विगत १२ दिनदेखि नै कोरोना विशेष अस्पताल स्थापनाका लागि पहल गरे पनि सफल नभएको गुनासो गरे ।

‘वीरगन्जमा ३ जना संक्रमित पुष्टि भइसक्यो,’ कान्तिपुरसँग मेयर सरावगीले भने, ‘यदि अरु ४/५ जना संक्रमित फेला परे नारायणी अस्पतालले हात झिक्ने अवस्था छ । केन्द्र र प्रदेश सरकारले हालसम्म पहल गरेका छैनन् ।’

मेयर सरावगीले केन्द्र सरकारलाई सम्पर्क गर्दा प्रदेशको जिम्मा हो भन्ने गरेको र प्रदेशलाई सम्पर्क गर्दा केन्द्रतिर इसारा गर्ने गरेको दुखेसो पोखे । ‘व्यवस्थापन गर्न मै तयार छु,’ उनले भने, ‘मलाई अधिकार त दिनुपर्‍यो नि !’

विपक्षी कांग्रेसका जिल्ला सचिव श्याम पटेल कोभिड १९ रोकथामको पूर्व तयारीमा स्थानीय प्रशासन गम्भीर नभएको आरोप लगाउँछन् । प्रदेश २ सरकारले जिल्ला विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ पठाएको थियो ।

उक्त रकमले कोभिड १९ को संक्रमण फैलिनबाट रोकथाम गरी विपद जोखिम न्युनीकरण र पूर्व तयारीका लागि आवश्यक सामाग्री, उपकरण लगायतका अत्यावश्यक व्यवस्थापन तथा उपचार प्रयोजनका लागि खर्च गर्ने निर्णय भएपनि हालसम्म उक्त रकम खर्च नभएको उनले बताए ।

तपाईको प्रतिक्रिया