वर्ष २०७६ का उत्कृष्ट कलाकार

  चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : गत वर्षभन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू कलाकारहरुले आश देखाएनन् ।

हुन त यो वर्ष पनि थुप्रै नव-कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न उनीहरु नोटिस भए न फिल्म नै । उही पूरानै कलाकारकै अभिनयले साख जोगायो । वर्ष उत्कृष्ट कलाकारको सूचीमा पूरानै नाम दोहोरिने पक्का हो ।

विपिन कार्की
यो वर्ष उत्कृष्ट अभिनय गर्ने कलाकारको अग्रपङ्तिमा पर्छन्, अभिनेता विपिन कार्की । विपिनलाई यो वर्षकै उम्दा कलाकार भन्दा फरक पर्दैन । हुन त यसअघि पनि विपिनले आफूलाई अभिनयमा अब्बल सावित गरेका छन् । वर्ष २०७६ मा चाहे ‘जात्रै जात्रा’ होस् या हाँस्यकलाकार माथि बनेको फिल्म ‘सेल्फी किङ’ । १० किलो सुन भेट्ने फणिन्द्र होस् या हाँस्यकलाकार गोपाल, विपिनले यी दुवै चरित्रमा आफूलाई भर्सटाइल प्रस्तुत गरेका छन् ।

उनकै अभिनयले गर्दा एक पर्दामा हामी विपिनलाई फणिन्द्रको रुपमा विश्वास गर्छौ, अनि अर्को पर्दामा गोपाल । हुन त यसअघि पनि उनले विभिन्न चरित्रमा आफूलाई अब्बल ठहराएका छन् । हरेक चरित्रमा फिट देखिन्छन् विपिन । किनकि उनी आफ्नो चरित्रमा मिहेनत गर्छन् । चरित्रमा डुबेर अभिनय गर्छन् । फरक चरित्रलाई फरक अभिनयले बाँचिदिन्छन् । आफ्नो चरित्रलाई न्याय दिने जीवन्त अभिनय गरेर दर्शकदेखि समीक्षकहरुबाट आफ्नो अभिनयको प्रशंसा बटुल्छन् उनी । यही भर्सटाइल अभिनयका कारण दर्शकमा पनि उनी प्रिय छन् ।

दयाहाङ राई
दयाहाङ राई यो वर्षको अर्का उत्कृष्ट अभिनेता हुन् । हुन त दयालाई एकै किसिमको अभिनय गर्ने कलाकारको आरोप लाग्ने गर्छ । तर, उनी चरित्रलाई आत्मासाथ गर्ने कलाकार हुन् । यो वर्ष प्रदर्शनमा आएको आप्पा, जात्रै जात्रा होस् या कबड्डी कबड्डी कबड्डी, उनले आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेका छन् । कबड्डीको तेस्रो सिरिज गर्दासम्म पनि उनको काजी पात्र जीवन्त लाग्छ । उनको अभिनय, हाउभाउ चरित्रसंगत नै छन् ।

‘आप्पा’ फिल्मको बिर्खे पात्रमा पनि दयाको अभिनय प्रशंनीय छ । बिर्खे पात्रकै अभिनयका कारण पनि फिल्मलाई केही हदसम्म माथि उठाएको छ । यद्यपि निर्देशक छनौटमा दया यस फिल्ममा पनि चुकेका थिए । स्क्रिप्ट र निर्देशक छनौटमा ध्यान नदिए दयाको अभिनय बालुवामा पानी हाले जस्तो मात्र देखिनेछ ।

सुरक्षा पन्त
अभिनेत्रीहरुमा सुरुक्षा पन्त यो वर्षकै उत्कृष्ट अभिनय गर्ने कलाकारमा पर्छिन् । ‘धनपति’बाट दर्शकमा नोटिस भएकी उनी अभिनित फिल्म ‘आमा’ यो वर्ष प्रदर्शनमा आयो ।अभिनयका हिसाबले उनको करियरकै अहिलेसम्मको राम्रो काम गरेको फिल्म हो यो । जीवन्त अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री सुरक्षा पनि चरित्रमा मिहेनत गर्छिन् । फिल्मकै लागि उनले आफ्नो कपालसमेत मुण्डन गरिन् । उनको चौतर्फी चर्चा पनि भयो । आफ्नो चरित्रलाई सटिक प्रस्तुत गर्न कपालसमेत काट्न पछि परिनन् । यसबाट पनि थाह पाउन सकिन्छ उनी चरित्रलाई लिएर कति गम्भीर हुन्छिन् भन्ने ।

केकी अधिकारी
अभिनयकै कारण चिनिने अर्को नाम हो, केकी अधिकारी । यो वर्ष उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आयो । उनले जलको भूमिकालाई फिल्ममा राम्रैसँग निभाइन् । सन् २०१० मा ‘स्वर’फिल्मबाट डेब्यू गरेक उनी जीवन्त अभिनय गर्ने कलाकारमै पर्छिन् । तर, ‘घामपानी’देखि यता फिल्महरुमा नोटिस हुने अभिनय उनले गरेकी थिइनन् । हाँस्यकलाकारहरुको जम्बो टोलीमा पनि आफ्नो अभिनयकै कारण ‘छ माया छपक्कै’ मा आफूलाई बुलन्द ठहराइन् ।

सरिता गिरी
सामान्यतया यस्त सुचीहरुमा परम्परागत रुपमा नायक वा नायिका भनिने अथवा फिल्ममा केन्द्रीय पात्रका रुपमा देखिने कलाकारको मात्रै चर्चा गरिन्छ । तर, कुनै कलाकारको क्षमता उसको भूमिकाको लम्बाई वा चौडाइले होइन, उसको अभिनयको गहिराइमा नापिनु पर्छ । यसरी नाप्ने हो भने यो सुचीमा पर्ने २०७६ कि कलाकार हुन्- सरिता गिरी । नाटकबाट फिल्ममा आएका सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछानेजस्तै सरिता गिरी पनि कुशल कलाकार हुन् । उनले ठूलो पर्दाका धेरै फिल्ममा सहायक भूमिकामा आफूलाई अब्बल सावित गरिसकेकी छन् । २०७६ मा आएको ‘आमा’ मा पनि उनले सानो भूमिकामा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिन् ।

प्रकाश घिमिरे
सरिता गिरीजस्तै नाटकले नेपाली फिल्मलाई दिएको अर्का कलाकार हुन्- प्रकाश घिमिरे । आफ्नो स्वभाविक अभिनयका कारण दर्शकको मन जित्दै आए पनि चर्चाभन्दा थोरै टाढा बस्ने घिमिरे यस वर्ष पनि ‘जात्रैजात्रा’ र ‘छ माया छपक्कै’ दुवै फिल्ममा अभिनय गरे । बाबु, दाजु र ससुराजस्ता फिल्मको कथामा अति आवश्यक तर सहायक भूमिकामा पोखरेली घिमिरे पछिल्लो समय जमिरहेका छन् । नवीन सुब्बाको टेलिफिल्म ‘दलन’मा धम्मरेबाको भूमिकामा देखिएपछि नै चिनिन थालेका घिमिरले ‘जात्रा’मा वर्षा राउतको पिताको भूमिकामा छाप छोडेका थिए । आदर्शवादी राजनीतिबाट प्रेरित इमान्दार कार्यकर्ताका रुपमा ‘छ माया छपक्कै’मा यस वर्ष प्रकाश स्मरणीय रहे । (स्रोत : इकान्तिपुर अनलाइन)

तपाईको प्रतिक्रिया