संक्रमितको संख्या थपिएको छ क्‍वारेन्टाइनमा बसिदिनुस् : स्वास्थ्य मन्त्रालय

  चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : नेपालमा आइतबार ३ जना थप कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्‍वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । 

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयले परीक्षणको दायरा बढाइरहेको बताउँदै घरमै बस्न आग्रह गरे । शनिबार चैत २२ गते सुदूपश्चिममा ३ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै आठौँ दिनमा ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै पर्साको वीरगन्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएको जनाएको थियो । उनीहरु भारतीय नागरिक हुन् ।

उनीहरुलाई हाल विरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्‍वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउँदै यसका लागि टोली गइसकेको बताए ।

तीनवटा नयाँ संक्रमण भेटिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ पुगेको छ । पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् ।

५ हजार परीक्षण

नेपालमा हालसम्म आइतबारको अपडेटअनुसार ५ हजार १ सय ८४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । २४ घण्टामा ७ सय ९५ नमुना परीक्षण भएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म ४ हजार २० नमुना परीक्षण भएको छ भने उपत्यकाबाहिर १ हजार १सय ६४ नमुना परीक्षण गरिएको छ । आजको अपडेटमा आइसोलेसनमा देशभरी ८५ जना रहेका छन् भने क्‍वारेन्टाइनमा ७ हजार ९७३ जना रहेका छन् ।

आरडीटीबाट गरिने परीक्षण हालसम्म ३ हजार ३२१ जनाको यसबाट परीक्षण भइसकेको छ । आरडिटी र पीसीआर परीक्षण जोड्दा ८ हजार ५०५ जनाको हालसम्म परीक्षण भइसकेको प्रवक्ता देवकोटाले जनाए ।

तपाईको प्रतिक्रिया