नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १२ पुग्यो

  चैत ३०, २०७६

काठमाडौं, चैत ३० : नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सरकारले औपचारीक रुपमा जानकारी भने दिइसकेको छैन ।

संक्रमितहरु तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

काठमाडौमा पनि रिपोर्ट पोजेटिभ आएको सरकारी अधिकारीहरुले नै भनेका छन् । धर्मगुरु भनिएका तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसिरहेको थिए ।

हेटौंडा स्थित वागमती प्रयोगशालाका अधिकारीले संक्रमण पुष्टि भएको र त्यसको जानकारी प्रदेश, संघ दुईटै सरकारलाई भइसकेको सीआईएनलाई जानकारी दिनुभयो । ‘संक्रमण भएको पुष्टि भइसकेको छ’ ती अधिकारीले भन्नुभयो । ‘आजै संघीय मन्त्रालयले मिडिया ब्रिफिङका क्रममा सार्वजनिक गर्नेछ,’ सिआइएन खबरमा उल्लेख छ ।

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ। बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए।

तपाईको प्रतिक्रिया