प्रदेश १ मा २८२ जनाको रिपोर्ट नेगेटिभ

  चैत ३०, २०७६

विराटनगर, चैत ३० : प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट -यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाबअन्तर्गत सङ्कलित २११ नमूनाहरू परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएकोे छ

कोरोना भइरस भए-नभएको छिटो पत्ता लगाउन गरिने ¥यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।

प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरू परिचालन गर्ने कार्य जारी छ । मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनअन्तर्गत तीन हजार ४१७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् ।

नपाको कोषमा ७९ लाख जम्मा
भद्रपुर : झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु.४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ ।

कोषमा चालु आर्थिक वर्ष २०७६÷७७ को वजेटबाट रु. २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको रु. ३५ लाख, १ न.प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु.१० लाख आएको थियो ।

विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट रु. १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिनुभयो ।

उलङ्घन गर्ने कारबाहीमा
झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरू धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो ।

लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रूपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दमकमा पनि कडाइ
दमक : दिनभरि लकडाउन प्रभावकारी भएपनि बिहान र बेलुका चोक र बजारमा मानिसहरूको चहलपहल बढेपछि कडाइका लागि प्रहरी सक्रियता बढेको छ ।

बिनाकाम बाहिर निस्कनेलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिएर सामाजिक दुरी कायम गरी चौकमै दुई घण्टा उभिन लगाउन थालेको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले लकडाउनको पालना गरी घरमै बसिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया