एनआरएनए, दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  चैत २९, २०७६

काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावकाबेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले महामारी नियन्त्रणका लागि प्राप्त सामग्रीलाई सम्बन्धित स्थानमा पु¥याइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । एनआरएनए दक्षिण कोरियाले ‘एक नेपाली एक हेल्थ किट’ नारासहित सहयोग सङ्कलन गरेको थियो । एनआरएन दक्षिण कोरियाका केन्द्रीय सदस्य बी.मणि दाहालकाअनुसार, एनआरएन दक्षिण कोरियाले दिने ठूलो परिणमको सहयोग चीनबाट ल्याउनै बाँकी छ ।

कोरियाबाट ल्याइएका चार हजार टेस्टकिट र स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) मात्र अहिले सरकारलाई बुझाइएको हो । उहाँका अनुसार एक करोड ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ ।

सङ्घका अनुसार, कोरियाबाट ल्याइएको एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमूना परीक्षण गर्न सकिने छ । सो किटले तीन घण्टामै नतिजा दिने जनाइएको छ । दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनमा एक करोड ४० लाख नेपाली रकम जम्मा गरेका थिए ।

तपाईको प्रतिक्रिया