सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ

  चैत २९, २०७६

नेपालगञ्ज, चैत २९ : वर्षौँपछि बल्लतल्ल बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अझै शुरु भएको छैन ।

झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्फबाट सुरक्षाकर्मीको बसोबास र कार्यालय भवनका लागि ५० लाखमा ठेक्का भएकामा माउण्टेन कैलाश निर्माण कम्पनीसंँग ठेक्का सम्झौता हुन बाँकी नै रहेकाले निर्माणको काम अघि बढ्न नसकेको हो ।

सम्झौताका लागि कागजी प्रक्रिया अघि बढिरहेकै अवस्थामा कोभिड-१९ को जोखिमपछि जारी लकडाउनले ठेकेदार कम्पनीसंँग सम्झौता रोकिएको आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालको भनाइ छ ।

बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको काम अब कहिलेदेखि शुरु हुन्छ भन्ने निक्र्याेल लकडाउनपछिको परिस्थितिले तय गर्ने इञ्जिनीयर भुसालले बताउनुभयो ।
भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो ।

बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायत संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटाका लागि छुट्याइएको इञ्जिनीयर भुसाल बताउनुहुन्छ । नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलव्ध गराउने र अन्य काम भारत सरकारका तर्पmबाट हुने सम्झौता भएको हो । नौ वर्षअघि भएको सम्झौता अनुसार सुक्खा बन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन । “भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामी पर्खिबस्नुबाहेक अरु केही गर्न पनि सक्दैनौँ”, इन्जिनीयर भुसालले भन्नुभयो ।

अनौपचारिक रुपमा थाहा भएअनुसार भारत सरकारले बन्दरगाह निर्माणका लागि अहिले भारु एक अर्ब ३६ छुट्याएको छ । सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयातनिर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् ।

नेपालका प्रदेश ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योगव्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कासेढुंगा सावित हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया