गहुँ बाली भित्र्याउँदै, आत्मबल बढाउँदै

  चैत २९, २०७६

धनगढी, चैत २९ : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।

लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने भन्ने सकसमा आमकिसान देखिँदा कतिपय भने कोरोनाले ल्याएको जोखिमविरुद्ध साहस र आत्मबल बढाउँदै बाली भित्र्याउनमा जुटेका छन् ।

धनगढी उपमहानगरपालिकाका किसान नारायण चौधरी साहस र आत्मबल बढाउँदै सुरक्षित भएर काम गरेमा कोरोनाले छुन नसक्ने दाबी गर्नुहुन्छ । खेतमा गहुँ बाली काट्दै गरेका किसान रोगको रोकथामका लागि भन्दै एकापसमा निश्चित दूरी राखेर बाली काट्नमा भने सचेत देखिन्छन् ।

नाम उल्लेख गर्न नचाहने अर्का किसानले भीडभाड नगरेर सुरक्षित ढङ्गले भए पनि बाली काटेर भित्र्याउनु पर्ने बाध्यता सुनाउँदै प्रश्न गर्नुभयो, “अहिले बाली नभित्र्याए वर्षभरि खान कस्ले दिन्छ ?

उहाँले निर्धक्कसँग भन्नुभयो, ‘कोरोनाले धेरै मान्छेको ज्यान लिइरहेको छ तर दिनभरि काम गर्दा हुने थकान मेटाउन बेलुका घरमा आफूहरुबीच गरिने खानपिनले कोरोनाले ल्याएको त्रास मेटाउन बल पुगिरहेको छ ।’

भलमन्साको भूमिका
कैलालीको खैलाड गाउँका ‘भलमन्सा’ विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताउनुहुन्छ ।

चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा ‘भलमन्सा’ चयन गर्ने प्रचलन सदियौँदेखि छ । तर यतिबेला कोरोनाको सन्त्रास बढिरहँदा गरिएको लकडाउनले कतिपय भलमन्साहरु फुर्सदिला पनि देखिन्छन् । ‘‘घुमफिर बन्द छ, उहाँले भन्नुभयो, यस्तो बेलामा गाउँमा देखिने सबै काम गरौँभन्दा पनि वातावरण मिलेको छैन ।”

सीमा क्षेत्रबाट नेपाल भित्रिनेहरुको विषयमा तत्काल वडाध्यक्ष र प्रहरीलाई खबर गर्ने भूमिका भने आफूले निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“खैलाड क्षेत्रमा सीमाबाट हालै दुईजना भित्रिएकामा तत्काल प्रहरीलाई खबर गरेका थियाँै, उहाँले भन्नुभयो, गड्डाचौकी नाका हुँदै भित्रिने खैलाडका थप एकजना उतैको क्वारेन्टाइनमा बसेको सूचना आएको छ ।”

हसुलिया गाउँका पूर्व भलमन्सा रामबहादुर चौधरीको भूमिका लकडाउनका बाबजुद घटेको छैन । हसुलियाको दक्षिणमा रहेको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको पालैपालो निगरानी गर्नका लागि गाउँका किसानलाई खटाउने गरिएको चौधरीले बताउनुभयो ।

‘पालो आएपछि दुईजनाको समूहमा हसुलियाको बट्कामुढा सीमा नाकामा खटाउने गरिएको छ”, उहाँले भन्नुभयो, “यति बेला गहुँ बाली भित्र्याउने र सीमाबाट भित्रिनेहरुको निगरानी गर्ने काम सँगै भइरहेको छ ।”

जारी लकडाउनका कारण सबै गतिविधि ठप्प हुँदा किसानलाई गहुँबाली काट्न मजदूरको अभाव भएको हो ।

एक घण्टासम्म उभ्याएर छाडियो
लकडाउनको अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई पहिलो पटक प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ ।

लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया