विदेशमा काम गुमाएका नेपालीको घर फर्कने अनिश्चितता

  चैत २९, २०७६

काठमाडौं, चैत २९ : कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ र वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन् ।

बेतलबी बिदामा राखिएका वा रोजगारी गुमाएका नेपालीहरू लकडाउनका कारण स्वदेश फर्कन सकेका छैनन् । विभिन्न देशमा कार्यरत थुप्रै नेपाली कामदारहरूले रोजगारी गुमाउने अवस्थामा रहेको बताएका छन् ।

उनीहरूले कतिपयलाई कम्पनीले घर जान भनेको र केहीले रोजगारी नै गुमाएको अवस्था छ तर घर फर्कन नसकेको जानकारी दिएका छन् ।

‘घर जान भनियो तर एअरपोर्ट बन्द छ’
माल्दिभ्सको हलिडे इन होटलमा ‘वेट्रेस’को रूपमा काम गर्ने २१ वर्षीया मन्जिता लिम्बुले जागिर गुमाएकी छिन् ।

लिम्बु भन्छिन्, “काम गरिरहेको होटल केही महिनाको लागि बन्द हुँदैछ र कम्पनीले मलाई घर फर्कन भनेको छ। तर लकडाउनका कारण म घर फर्कन सक्ने अवस्था छैन ।”

उनका अनुसार अन्य देशका नागरिकहरूले उनीहरूका सरकारले उद्दार गर्ने बताएका छन्। केही दिनमा त्यहाँ नेपालीहरू मात्र बाँकी भइने हो कि भन्ने चिन्ताले पनि उनीहरूलाई सताएको छ ।

मल्दिभ्सकै अर्को रिसोर्टमा काम गर्ने काभ्रेका बालाकुमार जोशीलाई पनि कामबाट तीन महिनाका लागि बिदा दिइएको र जागिरको कुनै सुनिश्चितता नभएको स्थितिमा नेपाल फर्कनुपर्ने बाध्यता छ ।

“मैले काम गर्ने रिसोर्टमा पर्यटकहरू छैनन् त्यसैले कम्पनीले केही महिनाको लागि घर फर्कनु भनेको छ। तर सरकारले जहाज नपठाएसम्म म जान सक्दिन ।”

देश फर्कन समस्या
यसैगरि संयुक्त अरब इमिरेट्स यूएइमा विगत छ महिनदेखि कार्यरत सन्दीप महर्जनलाई कम्पनीले कामबाट निकालिदिएको छ ।

“काम नै नभएपछि समस्या हुन्छ, यहाँ किन बस्ने? हाम्रो लागि नेपालमा समेत एअरपोर्ट बन्द छ, स्वदेश नै फर्कन नपाउने यो कस्तो अवस्था हो?” २८ वर्षीय महर्जनले भने ।

सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै २० मार्च मध्यरातदेखि लागु हुनेगरि १५ एप्रिलसम्म कोरोना सङ्क्रमित देशबाट हवाई आगमनमा प्रतिबन्ध लगाएको छ ।

विभिन्न देशमा रहेका नेपालीहरू प्रतिबन्धका कारण नेपाल फर्कन सकिरहेका छैनन् र प्रतिबन्ध खुल्ने आशामा बसिरहेका छन् ।

संसारभर फैलिएको कोरोनाभाइरसका कारण नेपालसहित धेरै देशहरू लकडाउनमा छन् र उडानहरू बन्द छन् ।

कहाँ कति नेपाली छन्?
मलेसिया, साउदी अरब, यूएई, कतार र कोरियालगायत विभिन्न देशमा ४० लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा रहेको बताइन्छ ।

नेपाली कामदार जाने गरेका गन्तव्य मुलुकहरूमध्ये कतार, कुवेत र साउदी अरबमा कोरोनाभाइरस चर्को सङ्क्रमण देखिएको छ ।

वैदेशिक रोजगारमा रहेका कति नेपालीहरूलाई कामबाट बिदा दिइएको छ वा जागिरबाट निकालिएको छ भन्ने तथ्याङ्क नभए पनि होटल तथा स्वागत सत्कार (हस्पिटालिटी) क्षेत्रमा काम गर्ने नेपालीहरू सबैभन्दा प्रभावित भएको बिबिसीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया