बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सारियो

  चैत २८, २०७६

काठमाडौं, चैत २८ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि सघन हेरचाह उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ । यद्दपी उहाँ उपचारको क्रममा अस्पतालमा रहीरहने डाउनिङ स्ट्रीटले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट थलिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन गत् सोमबारदेखि लण्डनस्थित सेन्ट थोमस अस्पतालमा सघन हेरचाह उपचार कक्षमा भर्ना हुनुभएको थियो । कोरोनाभाइरस संक्रमणको पुष्टि भएको दशदिनपछि उहाँ अस्पताल भर्ना हुनुभयो । उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार आएको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

डाउनिङ स्ट्रीटले सघन उपचार कक्षमा अक्सिजन दिएर उपचार गरिएपनि भेन्टिलेटरमा नराखिएको प्रष्ट्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्य लाभको कामना गर्नुहुँदै सघन उपचार कक्षबाट निस्किएको खबर सुनेर खुशी भएको प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया