युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन : युवामन्त्री

  चैत २७, २०७६

काठमाडौं, चैत २७ : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गर्नुभएको छ ।

उहाँले कोरोनाविरुद्ध जनचेतना बढाउने, विदेशबाट फर्किएका वा सम्भावित सङ्क्रमितका बारेमा जानकारी गराउने, उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरी आवश्यक सहयोग गर्नेलगायत कार्यमा युवा, खेलाडी र स्काउटलाई स्वयमसेवकका रुपमा सामाजिक दूरी कायम राख्दै सावधानीपूर्वक परिचालित हुन आग्रह गर्नुभयो ।

कोरोनाको महामारी सिङ्गो मानव जातिको अस्तित्वमाथिको चुनौती रहेकाले सङ्क्रमणविरुद्ध जुध्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो,“समाजका सचेत तप्का भएका हिसाबले युवा र खेलाडीमाथि सबैको भरोसा छ । गाउँ, टोल, वडा र समाजमा जो जहाँ छौँ, त्यहीँ सावधानीपूर्वक अप्ठ्यारामा परेकाहरुको उद्धार तथा राहत वितरणमा स्वयंसेवकीय भूमिका निर्वाह गरौँ ।”
सङ्क्रमण नियन्त्रणको अभियानमा देशभरका युवा, विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनमा आबद्ध युवा, खेलाडी, स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला जिल्लाका स्वयम्सेवकलाई आवश्यकतानुसार स्वयम्सेवकीय भूमिकामा आआफ्नो ठाउँमा परिचालनका लागि प्रदेश सरकार र स्थानीय तहलाई सरकारले आग्रह गरिसकेको उहाँले जानकारी दिनुभयो ।

लक्षित समूहको तथ्याङ्क सङ्कलन र राहत वितरणमा स्वयम्सेवकीय भूमिका निर्वाह, अप्ठ्यारोमा परेका व्यक्तिको सूचना सङ्कलन र उद्धार गर्न, आवश्यकतानुसार बिरामीलाई अस्पतालसम्म पु¥याउन, सबैलाई स्फूर्ति राख्न तथा सम्भव भएसम्म घरमै शारीरिक व्यायाम, योग, ध्यान र अभ्यास तथा सडक मानवको उद्धार गरी जीवन रक्षामा सघाउनसमेत युवाको महत्वपूर्ण भूमिका रहने मन्त्री विश्वकर्माले औँल्याउनुभयो ।

मन्त्रिपरिषद्द्धारा कोरोना सङ्क्रमणविरुद्धको अभियानमा राहत वितरणलगायत कार्यमा युवा, खेलाडी तथा स्काउटलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जिम्मेवारीसमेत पाउनुभएका मन्त्री विश्वकर्माले युवा परिचालन, योजना निर्माण तथा कार्यान्वयन र आवश्यक समन्वयका लागि स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरेर काम अघि बढाएको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन निर्माण तथा राहत वितरणलगायत अभियानमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर स्वयंसेवकको परिचालनका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनका लागि राष्ट्रिय खेलकूद परिषद् र स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिइएको बताइएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण विभिन्न खेल प्रतियोगिता स्थगन हुनाका साथै खेल पूर्वाधार निर्माण तथा आगामी वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको तयारीका काम प्रभावित भएको खेलकूद मन्त्रीको भनाइ छ ।

खेल क्षेत्रमा तत्काल राहतको आवश्यकता नरहे पनि महामारीको अवस्था हेरेर त्यसपछि दीर्घकालीन रुपबाट खेल क्षेत्रमा परेको नकारात्मक असरबाट जोगाउन र विकास र विस्तारको गतिलाई तीव्रता दिन राहत कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री विश्वकर्माले भन्नुभयो, “ खेलकूदमा कोरोना प्रभाव नदेखिए पनि दीर्घकालिन रुपमा भने यसले खेल क्षेत्रलाई प्रभाव पार्ने निश्चित छ । खेल क्षेत्रमा पर्ने नकारात्मक असरबाट जोगाउँदै विकास र विस्तारको स्वाभाविक गतिमा ल्याउन भोलिका दिनमा राहतका कार्यक्रम केन्द्रित गरेर जानुको विकल्प छैन ।”

कोरोनाको सङ्क्रमण फैलनबाट रोक्नका लागि सङ्घीय सरकारले आत्मसात् गरेका कार्यक्रमलाई प्रदेश र स्थानीय तहले योजनाबद्ध ढङ्गले अघि बढाउँदै प्रशंसनीय कार्य गरेको र जोखिम न्यूनीकरण तथा प्रभावितलाई राहत वितरणमा महत्वपूर्ण भूमिका खेलेबाट सङ्घीयताको प्रत्यक्ष अनुभूति जनतामा भएको विचार उहाँको छ ।

उहाँले थप्नुभयो,“राहत वितरण तथा लकडाउन कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहले सङ्घीयताको मर्मअनुसार काम गरेका छन् । तिनको भूमिका प्रशंनीय छ । वास्तविक रुपमा सरकारलाई जनताको घरआँगनमा लैजानका लागि तीन तहका सरकारको भूमिका प्रभावकारी देखिएको छ ।”

लकडाउनको परिस्थितिको सामना गर्नुपरेकाले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) मा विजयी खेलाडी, प्रशिक्षक तथा खेल सङ्घहरुलाई सरकारका तर्फबाट घोषित पुरस्कार वितरण र सम्मानको कार्यक्रम प्रभावित भए पनि मन्त्रालयका तर्फबाट पुरस्कार रकम सम्वन्धित व्यक्तिको बैँङ्क खातामा जम्मा गर्ने प्रक्रिया शुरु भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयको लेखा शाखाका सीमित कर्मचारी सामाजिक दूरीका साथ व्यक्तिगत खेलका विजेता र सामूहिक खेल विधाका विजेता खेलाडीले पाउने पुरस्कारको रकम जम्मा गर्ने काममा खटिइरहेकाले दुईतीन दिनभित्र सबै खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम उनीहरुको बैँङ्क खातामा जम्मा भइसक्ने मन्त्री विश्वकर्माले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया