सुदूरपश्चिममा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी टोली

  चैत २७, २०७६

डोटी, चैत २७ : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ ।

टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट काम थालेको छ । खत्याडीमा स्वाब सङ्कलनपछि जिल्लाका अन्य स्थानका कवारेन्टाइनमा रहेका नागरिकको स्वाब सङ्कलनको कार्य शुरु गरिने भएको छ । उक्त गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण पहिलो चरणमा त्यहाँ स्वाब सङ्कलन शुरु गरिएको हो ।

भारत तथा अन्य मुलुकबाट काम गरेर गृहजिल्ला आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलनका लागि आएका विशेषज्ञ डाक्टरहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र निजामतीसहितका चिकित्सकको घुम्ती टोली रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । सङ्घीय सरकारले उक्त टोलीलाई स्वाव सङ्कलनका लागि डोटी पठाउने निर्णय गरेसँगै उक्त टोली जिल्ला आएको हो ।

टोलीले जिल्लाका १२ वटै ठाउँका क्वारेन्टाइलमा पुगेर त्यहाँ राखिएका नागरिकहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ लैजाने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । स्वाब परीक्षणका लागि आएको उक्त टोलीलाई जिल्लाका पाँच ठाउँमा स्वाब सङ्कलनका लागि लैजाने तयारी भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

स्वाव सङ्कलनका लागि टोली यहाँका सबै क्वारेन्टाइन जाने भएपछि अहिले सम्पूर्ण क्वारेन्टाइन स्थलमा हेलिप्याड निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वाव सङ्कलनका लागि टोली गाउँमा जाने भएकाले सुरक्षाकर्मी खटाएर क्वारेन्टाइन भएका ठाउँमा हेलिप्याड बनाउने काम शुरु भएको छ, स्वाब सङ्कलन कार्यजारी छ ।” टोलीले एक दिनमा २०० जनासम्मको स्वाब सङ्कलन गर्ने लक्ष्य लिएको बताइएको छ ।

डोटीमा हाल लकडाउनपछि भारतबाट आएका ३०५ जना र सोभन्दा अघि आएका ३१ जना गरी जम्मा ३३६ लाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच ठाउँमा स्वाब सङ्कलन केन्द्र राखेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालिकाका लागि खत्याडी, जोरायल र बडिकेदार गाउँपालिकाका लागि बिपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोटमा स्वाब परीक्षण सङ्कलन केन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा बसेकाहरुको समयावधि थप गरेको छ । यसअघि भारतलगायत अन्य मुलुकबाट आएकाहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । यो अवधि सरकारको निर्णयअनुसार एक हप्ता अरु थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेन्टाइनमा राखिएकाहरुलाई थप एक हप्ता गरी २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सम्बन्धित पालिकाहरुलाई पत्राचार गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा छोटो अवधिमा खासै लक्षण नदेखिएकाले यहाँका क्वारेन्टाइनमा बसेकाहरुका लागि २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनपहिले क्वारेन्टाइनको समयावधि एक हप्ता थप गरी २१ दिन पु¥याउन सबै स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया