महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’

  चैत २६, २०७६

कञ्चनपुर, चैत २६ : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’(कोरोना भाइरस जाँच कक्ष ) बनाइएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा पीपीई नलगाई स्वास्थ्यकर्मीले कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न कोरोना जाँच कक्ष (कोरोना टेस्टिङ्ग बुथ) बनाएको हो । विश्वविद्यालयका इञ्जिनियर, विद्यार्र्थी तथा आविष्कार केन्द्रका प्राविधिकले सो बुथ तयार गरेका हुन ।

बुथ बनाएपछि अस्पतालका स्वास्थ्यकर्मीले पीपीइ नलगाएर पनि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने भएका छन । “कोरोना महामारीको बेलामा पीपीइको अभाव छ । यस्तो अवस्थामा बुथ निर्माण हुनु एकदमै राम्रो हो”, अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले भन्नु भयो । कोरोना महामारीमा पीपीई अभाव हुने चिन्तालाई बुथले हटाइदिएको अध्यक्ष जोशीले बताउनुभयो । बुथलाई सुरक्षा कवचका रुपमा लिएको उहाँले बताउनु भयो ।

नेपालमा राष्ट्रिय आविष्कार केन्द्रले कोरियाली प्रविधिमा सुधार गरी पीपीइको विकल्पमा निर्माण गरिएको बुथलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालले अस्पतालबाट शुरु गरेको हो । विश्वविद्यालय इञ्जिनियरिङ्ग सङ्कायका विभागीय प्रमुख तोरणप्रसाद भट्टले भन्नुभयो, “नेपालमा राष्ट्रिय आविष्कार केन्द्रले राम्रो गरी बनाई रहेको छ । केन्द्रसित सहकार्य गरी अस्पतालमा बुथ निर्माण गरिएको छ ।”

बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र बसेर अस्पतालका चिकित्सक वा अन्य स्वास्थ्यकर्मीले पीपीइ नलगाईकन सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने छन । “यसमा चिकित्सक भित्र हुन्छन आशङ्का गरिएका व्यक्ति बाहिर हुन्छन”, इञ्जिनियर भट्टले भन्नुभयो ।

महाकाली अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीका लागि हालसम्म ४० पीपीइ आएका छन । बुथ निर्माणपछि अस्पतालमा कोरोना सङ्क्रमण जाँचका लागि सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले बताउनुभयो । महाकाली अस्पतालमा मङ्गलबारसम्म कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा ४१ जनाको स्वाब जाँच गरिएको छ । अस्पतालको आइसोलेसनमा राखिएका नौ जनाको स्वाब परीक्षणपछि घर फर्किएका छन । घर फर्किएका सबैको नतिजा नेगेटिभ आएको थियो ।

विश्वविद्यालयले महाकाली अस्पतालबाट शुरु गरेको कोरोना टेस्टिङ्ग बुथलाई अन्य स्थानीय तहमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ । अस्पतालको बुथ निर्माणमा विश्वविद्यालयका इञ्जिनियर भट्टसहित इञ्जिनियर कमल लेखक, राष्ट्रिय आविष्कार केन्द्रका इञ्जिनियर भुवनेश्वी बोहरा र विद्यार्थीहरु लोचन कार्की र वीरेन्द्र बडाललगायतले सहयोग गर्नुभएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र भीमदत्त नगरपालिकाबीच आपसी सहकार्यका लागि दुइ वर्ष अघि सम्झौता गरिएको थियो ।

तपाईको प्रतिक्रिया