पाँचबुँदे सहमतिसँगै बाबुरामको शव बुझ्न परिवार तयार

  चैत २६, २०७६

बुटवल, चैत २६ : बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११औं दिनपछि आज आफन्तले बुझेका छन्। पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जिसी, मानवअधिकारकर्मी गोविन्द खनालको पहलमा आफन्त र परिवार शव बुझ्न सहमत भएका हुन्।

कोरोनाको आशंकामा उपचार सुरु गरिए पनि परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। आफन्तमा कोरोनाकै कारण मृत्यु भएको भन्ने त्रास फैलिएपछि मृत्युको ११ दिनसम्म पनि शव उठ्न सकेको थिएन। अधिकारकर्मी र सरोकारवालाको पहलमा पीडित पक्षकै स्वास्थ्यकर्मीसमेत राखेर गरेको छलफलपछि परिवार र आफन्त बुधबार शव बुझ्न तयार भएका हुन्।

पीडित परिवारको तर्फबाट डाक्टर माधव थापा, बाबुरामकी पत्नी रीताका दाजु कमल टण्डन, शंकर टण्डन, मृतकको स्थायी ठाउँका वडाध्यक्ष कृष्णबहादुर थापासहितले शव बुझेको रिब्दीकोट समाजका अध्यक्ष समुन्द्र जिसीले बताए। त्यसअघि सरोकारवालाले सामाजिक मन्त्रालयमा पीडित पक्षलाई राखेर परिवारको राहतका लागि छलफल गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

मन्त्रालयमा भएको छलफलमा मृतककी पत्नी रीता थापालाई उनी डेरामा बस्दै आएको रूपन्देहीको सैनामैना नगरपालिकाले योग्यताअनुसारको रोजगारी दिने, सामाजिक विकास मन्त्रालयले दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र विभिन्न संघसंस्थामार्फत सहयोग संकलन गरेर मृतककी श्रीमतीको नाममा ८ लाख ४० हजार रुपैयाँको राहत कोष स्थापना गरिदिने सहमति भएको पूर्वसभासद् पहाडीले बताए।‘उहाँहरु आजै दाहसंस्कार गर्न सहमत हुनुभएको छ,’ उनले भने, ‘डाक्टरसहितको छलफलबाट उहाँको मृत्यु कोरोनाबाट नभएको स्पष्ट पार्ने काम पनि भयो।’

चैत ६ गते दुबईबाट नेपाल आएका उनी ज्वरो आएपछि १३ गते बुटवलको कोरोना अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको चैत १६ गते मृत्यु भएको थियो। कोरोना आशंकामा संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट आउन दुई दिन लागेको थियो। रिपोर्ट नआउँदै कोरोनाको कारण मृत्यु भएको भन्ने हल्ला फैलिएपछि परिवार र आफन्त त्रसित भएका थिए। पछि परीक्षण रिपोर्ट नेगेटिभ आए पनि आफन्तले विश्वास गर्न नसक्दा शव लामो समय अस्पतालमै रहेको थियो ।

तपाईको प्रतिक्रिया