जनप्रतिनिधिसँगै अन्य घरधनिले गरे घरभाडा नलिने घोषणा

  चैत २६, २०७६

जुम्ला, चैत २६ : चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित घर दुई वटा घरको चैत महिनाको घरभाडा नलिने जनाएका हुन् । उनी स्थानीय तहको निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका–९ मा वडाध्यक्षका रुपमा विजयी भएका थिए ।

“सबै घरपरिवारको सल्लाहअनुसार भाडा छुट दिने निर्णय गरेका हौँ । कोरोना सङ्क्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउनमा छ । नेपाल आर्थिक सङ्कटमा गुज्रिरहेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ । धेरैले भाडा नलिने घोषणा गरिरहनुभएका छन् । त्यही सन्दर्भमा हाम्रो घरपरिवारले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको हो ।”

नेपालगञ्ज र जुम्ला गरी दुई घरमा १० जनालाई १० कोठा भाडामा दिइएको छ उहाँललाई मासिक रु ३१ हजार ५०० घरभाडा आउने गरेको थियो । चैत महिनाको घरभाडासहित पानी बिजुली सबै छुट दिनेछौँ । त्यसैगरी यसअघि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नो काठमाडौँमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभयो ।

काठमाडौँको टोखा नगरपालिका–८ रमणबस्ती स्थायी घर भएका प्रहरी नायब उपरीक्षक धामीले चैत महिनाको घरभाडा नलिने घोषणा जुम्लाबाटै गर्नुभएको हो । आफ्नो घरका छ कोठा भाडामा लगाएको उहाँले बताउनुभयो । “प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्नँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया