लकडाउनको असर गहुँ बालीमा

  चैत २६, २०७६

डोटी, चैत २६ : डडेल्धुरादेखि डोटीको सिलगढी पुग्ने क्रममा डा. केआइ सिंह राजमार्ग अन्तरगत सेती नदीको किनारै किनारको फाँटहरुमा गहुँ पाकेर पहेलै भएको देख्न सकिन्छ । गहुँ पाकिसकेको भए पनि अझै धेरै जसोले गहुँ भित्राउने तयारी गरिसकेको देखिदैन । बाली भित्राउने बेलामा देशमा लकडाउनको अवस्था सृजना भए पछि यसको प्रत्यक्ष असर कृषिमा समेत देखा पर्न थालेको छ ।

जिल्लाका ग्रामीण क्षेत्रबाट मौसमी रुपमा कामका लागि भारत जानेहरु धेरै छन् । खेतीबाली लगाइ सकेर खालि समयमा काम लागि भारत जाने र बाली भित्राउने समयमा फर्कनेहरु पछिल्लो समयमा भएको लकडाउनका कारण समस्यामा परेका छन् । भारतको चेन्नेइमा रहनु भएका डोटीको महादेवस्थानका रामबहादुर साउँद फेसबुकको म्यासेन्जरबाट दुखेसो पोख्नुभयो,–‘बैशाखमा घर फर्किने भनेर मंसिर महिनामा खेतीपाति सकेर यतातिर आइयो, बिच्चैमा नेपाल भारत दुबै देशमा लकडाउन भयो सहज भएपछि फर्किने तयारी गरेका छौ, उता घरबाट गहुँ काट्ने मान्छे पाइएन भन्ने खवर आएको आएकै छ ।’

सुदूरपश्चिम प्रदेशमा नयाँ बर्षमा बिसु पर्व पनि मनाउने गरिन्छ । बिसु पर्व पनि मनाउने र गहुँ भित्राउन पनि सहज हुने भनी घर फर्किएकाहरु पनि बिभिन्न स्थानको क्वारेन्टाइनमा राखिएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार जिल्लाका बिभिन्न २४ स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा ३ सय ९४ जना भन्दा बढी ब्यक्तिलाइ क्वारेन्टाइनमा राखिएको छ । हाललाइ क्वारेन्टाइनको अवधी समेत १४ दिनबाट बढाएर २१ दिन बनाईएको छ ।

क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु सबैको स्वाँब सँकलन गरेर कोरोना भाइरसको सँक्रमण भए वा नभएको परिक्षणका लागि लिएर जाने तयारी भइरहेको भए पनि अझै सम्म स्वाँब सँकलन गर्ने काम भएको छैन । क्वारेन्टाइनमा १४ दिन बसि सकेकाहरुलाइ थप एक हप्ता राख्नु पर्ने भए पछि स्थानीय तहका जनप्रतिनिधीहरुलाइ समेत सम्झाउन गाहे परेको छ । बिसु पर्वमा आफन्त सँगै घरमा बसेर खाने र खेतीपातिको काम गर्ने तयारी गरेकालाई थप समस्या भएको छ ।

डोटीको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले भन्नुभयो, – ‘पहिला १४ दिनको लागि भनेर राखियो, अहिले थप एक हप्ता राख्ने भने पछि क्वारेन्टाइनमा राखिराख्न साह्रै गाहे भएको छ । यो गहुँ लगायतका बालीहरु भित्राउने समय पनि हो । ’ यस बर्ष हिउदमा पर्याप्त पानि परेका कारण पनि गहुँको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया