कालोबजारीको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ

  चैत २५, २०७६

काठमाडौँ, चैत २५ : ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ। नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए । गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए। अहिले प्रहरी नक्सालस्थित अग्रवालको घरमा खानतलासीका लागि पुगेको छ ।

अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो। ‘हामी आफैं ग्राहक बनेर अग्रवालसँग डिल गरेका थियौं। आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको हो,’ एसएसपी थापाले भने ।

ग्राहक बनेको प्रहरीलाई सामान पुर्‍याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। यस विषयमा अनुसन्धान भइरहेको थापालाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

कुटनीतिक नियोगको गाडी चढेर कालोबजारी
शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । तीमध्ये ज्वरो नाप्ने थर्मल गन मालिक सुलभ अग्रवालले दोब्बर बढी रकममा विक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो । तर, प्राविधिक समस्याका कारण महाशाखाको अपरेशन सफल भएको थिएन । मंगलबार दिउँसो भने नक्सालमा अग्रवाल ६७ वटा थर्मल गन विक्री गर्न लाग्दा एन् िप्रहरीको घेराबन्दीमा परे ।

कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कूटनीतिक नियोगकै नम्बर प्लेट प्रयोग गरेका थिए । स्रोतका अनुसार नक्सालमा २०९८ सीसी वान नम्बरको गाडीमा चढेर अग्रवाल थर्मल गन विक्री गर्न पुगेका थिए । तर, सामान दिन नपाई अग्रवाल समातिए । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अग्रवाललाई अपराध महाशाखामा ल्याएर सोधपुछ गर्ने काम भइरहेको अनलाइनखबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया