कोभिड-१९ नियन्त्रणका लागि सातै प्रदेशमा आवश्यक पर्ने जनशक्ति पहिचान गर्न मन्त्रालयले खटायो टोली

  चैत २४, २०७६

काठमाडौँ, चैत २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक कर्मचारी पहिचान गर्न कर्मचारी खटाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयका ११ तहका कर्मचारी नेतृत्वमा टोली खटाई तीन दिनभित्र ती प्रदेशमा कति आवश्यक कर्मचारी कति चाहिन्छ सो सिफारिस गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताउनुभयो ।

“सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न कति कर्मचारी चाहिन्छ”, उहाँले भन्नुभयो, “ती कर्मचारीले त्यहाँ जनशक्तिको अभाव भए निजी अस्पताल तथा अन्तर सरकारी अस्पतालसँग समन्वय गर्ने, करार वा स्वयंसेवक राखी जनशक्ति बढाउन कर्मचारीलाई खटाइएको हो ।”

यसैगरी चैत महिनामा विदेशबाट आएका उपत्यकामा मानिसको पनि उपत्यकामा रहेका स्थानीय तहको समन्वयमा नमूना परीक्षण गरिने उहाँले जानकारी गराउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नमूना सङ्कलन गरी परीक्षण गर्ने उपत्यकामा स्थानीय तहका प्रमुख र वडाअध्यक्षले समन्वय गर्ने उहाँले बताउनुभयो । यसैगरी कोभिड–१९ का लागि १० वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने भएको छ । उहाँका अनुसार मन्त्रालयले चार, राष्ट्रिय एम्बुलेन्स सेवाले पाँच र काठमाडौँ महानगरपालिकाले एक एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् ।

प्रवक्ता डा देवकोटाले १४ दिनपछि पनि कोभिड–१९ पोजेटिभ देखिएकाले अझै क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले कैलाली, कञ्चनपुर र बाग्लुङमा विदेशबाट आएका सबैको मङ्गलबारदेखि ¥यापिड डाइगोनोष्ट टेष्ट गरिने बताउनुभयो । अहिलेसम्म एक हजार ६९७ को नमूना परीक्षण गरिएको छ । आजदेखि धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण गर्न थालिएको छ । अहिले उपत्यकासहित १० ठाउँमा नमूना परीक्षण भइरहेको छ । उहाँका अनुसार उपत्यकामा १२ र उपत्यकाबाहिर ९५ जना आइसोलेशनमा रहेका छन् । अहिलेसम्म नौ हजार १६८ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी मन्त्रालयले सङ्क्रमित आठजनाको नजीकका आफन्त, साथीभाइको पनि कन्ट्याक ट्रेसिङ गरिरहेको जनाएको छ । मोबाइल एप र मन्त्रालयको वेबसाइटबाट आज एक हजार २९१ जनाले आफैँ परीक्षण (सेल्फ इभ्यालुसेन) गरेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । ती परीक्षण गर्दा पाँचजना रेड जोनमा परेका छन् । यसैगरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा गएको टोलीले त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, काठमाडौँ मेडिकल कलेजमा गरेको अनुगमनको पनि समीक्षा गरिएको जानकारी उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया