भैरहवा प्रयोगशालामा १० को रिपोर्ट नेगेटिभ

  चैत २४, २०७६

लुम्बिनी, चैत २४ : कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोेगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो । डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन् ।

प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो । प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन् ।

प्रदेश ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ । प्रयोगशालामा संघीय सरकारले पठाएको पिसिआर मेशिनबाट कोरोना परीक्षण हुने छ ।

एम्बुलेन्स चालकलाई पीपीई वितरण
गुल्मी– स्वास्थ्य कार्यालयले जिल्लाका एम्बुलेन्स चालकको सुरक्षाका लागि पिपिई वितरण गरेको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालयमा आज चालकलाई पिपिई लगाउने तरिकाका बारेमा समेत प्रत्यक्ष रुपमा प्रयोग गरी जानकारी गराएको थियो ।

जिल्लामा रहेका ३८ एम्बुलेन्समध्ये कार्यालयले तत्कालका लागि नजीक र पायक पर्ने स्थानका रहेका दश एम्बुलेन्स चालकलाई मात्र उक्त प्रयोग गर्ने विधिसहित व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिएकोे हो । एम्बुलेन्समा बिरामी लैजाने क्रममा कसैलाई पनि संक्रमण नहोस् भन्नाका लागि कार्यालयले चालकलाई उक्त सामग्री वितरण गरेको जनाइएको छ ।

एम्बुलेन्स चालकहरुले बिरामी लैजाने क्रममा होटल बन्द भएका कारण आफूहरुलाई खाना खान समस्या परेको, सुरक्षाकर्मीले बीचबीचमा जाँच गर्दा पटकपटक ओर्लेर विवरण टिपाउनुपरेको जस्ता प्रमुख जिल्ला अधिकारीसँग राखेका थिए ।

सीमामा सशस्त्रको थप जनशक्ति
नवलपरासी– पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्न भारतसँग सिमाना जोडिएका सबै सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती गर्ने उद्देश्यले थप सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

पछिल्लो पटक करीब ३५ स्थानमा अस्थायी प्रकृतिको शिविर स्थापना गरी थप सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नं २६ गणका गणपति एवंम् सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनुभयो । प्रत्येक पाँच सयदेखि सात सय मिटरको दूरीमा अस्थायी प्रकृतिको शिविर स्थापना गरिएको छ । प्रत्येक एउटा शिविरमा पाँचदेखि छज नासम्म सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया