दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

  चैत २४, २०७६

काठमाडौं, चैत २४ : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

देवदह–६ बुटवलकी विनु पराजुलीले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन ।

‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो ।’

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले पराजुलीको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। पराजुली १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन् ।

आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। ‘यो दुःखद् खबर हो। हामीले अनौपचारिक सूचना पाएका छौं। औपचारिक सूचना प्राप्तको लागि सम्बन्धित ठाउँमा चिठी लेखेर पठाएका छौं,’ राजदूत कृष्णप्रसाद ढकाललाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ । यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया