कोरोनाविरुद्ध लड्न ९ मन्त्रीलाई थप जिम्मेवारी

  चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारले कोरोना भाइरस विरुद्धको लडाइँका लागि संघीय मन्त्रीलाई प्रदेशसँग समन्वयका लागि जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्‍न मन्त्रीलाई प्रदेशसँग समन्वयको जिम्मेवारी दिएको हो ।

भौतिक पूर्वाधार तथा योजना मन्त्री वसन्त नेम्वाङलाई प्रदेश १,श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादवलाई प्रदेश २, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‌मा अर्याललाई गण्डकी प्रदेश, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश र खानेपानी मन्त्री बिना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वयको जिम्मा दिइएको सरकार प्रवक्ताएवंसञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यसैगरी संसदमा रहेका राजनीतिक दलसँगको समन्वयको जिम्मा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई दिइएको छ । महिला मन्त्री पार्वत गुरुङलाई सामाजिक संघ संस्थाहरुलाई परिचालन तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई खेलाडीलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जिम्मा दिइएको इकान्तिपुरमा उल्लेख छ ।

सरकारले यसअघि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको थियो । समितिमा गृह, परराष्ट्रमन्त्री, अर्थ, स्वास्थ्य , शिक्षा, कृषि, उद्योग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा सदस्य छन्। समितिमा सदस्य रहेका मन्त्री विभिन्‍न उपसमिति बनाएका छन्।

तपाईको प्रतिक्रिया