चैतभित्र ५५ अर्ब आन्तरिक ऋण उठाइँदै

  चैत २४, २०७६

काठमाडौँ, चैत ३४ : चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले ट्रेजरी विल्सबाट २५ अर्ब र विकास ऋणपत्रबाट ३० अर्ब गरी कुल ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनामा २० अर्ब १ सय ८२ दिने र ५ अर्ब ३ सय ६४ दिने गरी ट्रेजरी विल्स रहेको उल्लेख छ ।

आन्तरिक ऋण उठाउने तालिका अनुसार आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्यको ०.१० प्रतिशत, तेस्रो त्रैमासमा २८.४१ प्रतिशत र चौथो त्रैमासमा ७१.४८ प्रतिशत ऋण उठाउनु पर्छ । सोही योजना अनुसार अहिले तेस्रो त्रैमासिक लक्ष्य अनुसार आन्तरिक ऋण उठाउन लागिएको हो ।

यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्य संशोधन गरे पनि आन्तिरिक ऋण प्राप्ति यथावत् नै राखेको छ ।

वैदेशिक बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन भए अरू उपकरणबाट १ खर्ब ९४ अर्ब रुपैयाँ उठाइने राष्ट्र बैंकको योजना छ । जसमध्ये यो वर्षबाट सबै त्रैमासमा वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका धेरैलाई समेट्ने उद्देश्यले अर्थ मन्त्रालयको निर्देशनअनुसार राष्ट्र बैंकले वर्षभरि नै बचतपत्र बिक्री खुला गरेको हो ।

यो आवको हालसम्म राष्ट्र बैंकले ६० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरिसकेको छ । यसमध्ये करिब ४३ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको छ । यो कुल निष्कासित बचतपत्रको करिब ०.७० प्रतिशत मात्र हो ।

राष्ट्र बैंकले तीन चरणमा साउनदेखि पुससम्म २० करोड, माघदेखि चैतसम्म ४० करोड र चैतदेखि असारसम्म ४० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गर्ने योजना बनाएको छ । जसमध्ये पुससम्म २० करोडको बचतपत्र निष्कासन भएकामा करिब १९ लाख २० हजार रुपैयाँको मात्र बिक्री भएको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया