रेस्टुरेन्टमा बसेर खान पाइन्न, त्रासले जनजीवन असहज बन्दै

  चैत २४, २०७६

टेक्सास, मेरो घर कैलाली हो । म अमेरिकाको टेक्सास राज्यमा बिगत ३ बर्षदेखि बस्दै आएको छु । अमाजोन कम्पनीमा काम गर्दै आएको छु । विश्वमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणको असर अमेरिकामा पनि परेको छ । अमेरिकाको विभिन्न राज्यमा संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।

अमेरिकामा कोरोना भाईरसको त्रासले जनजीवन असहज बन्दै गईरहेको छ । अमेरिकामा धेरै ठाउँमा फैलिएको कारोना भाइरस संक्रमणका कारण आम मानिस अतालिएको अवस्था छ ।
कतिपय कम्पनीबाट बिदा लिएर घरमै बसेका छन् भने कतिपयको काम गर्ने ठाउँ बन्द भएका कारण रोजगारी गुमेको अवस्था छ । तर मैले काम गर्ने कम्पनी खुलेको छ म दैनिक काममा जाने गरेको छु ।

सरकारले प्रायः सबै जसो राज्यलाई अप्रिल अन्तिम सम्मको लागि लक डाउन गरेको छ । नेपाल लगायत अन्य देशमा लग डाउनमा घरबाहिर निस्कन कडा गरेको पाइन्छ । तर अमेरिकाको म बस्ने राज्यमा सरकारले घर बाहिर निस्कन कडाई गरेको देखिदैन् । आफू सचेत भएर काम गर्नको लागि बाहिर निस्कन प्रतिवन्ध छैन् ।

बाहिर निस्कने बारेमा सरकारले सचेत भने गराएको छ तर कारवाही गर्दैन । यहाँका मानिस काम पर्नेहरु घरबाहिर निस्केका देखिन्छन भने अरु घरमै बसेका देखिन्छन् । लक डाउन गरिपछि पनि सरकारी मापदण्ड पुर्याएका ठूला कम्पनीहरुमा लगातार काम भईरहेको हुँदा कम्पनीका कामदार आउजाउ गरिरहने हुनाले सडकमा प्रायः सवारीसाधन गुडिरहेका हुन्छन् ।

सरकारी कार्यालयहरुको कामकाज सकेसम्म अनलाइन गरिएको छ । स्कुल, कलेजहरु बन्द गरिएको भए पनी विद्यार्थीहरू अनलाइन मार्फत पढेका छन् । सरकारले आमनागरिकलाई भीड्भाड नगर्न वा एक अर्कामा कम्तीमा ६ फिटको दुरी कायम राख्न आव्हान गरेको छ ।

त्यसैगरी बजारमा किनमेल गर्दा एकदमै सजकता अपनाउन भनेको छ । ह्यान्ड स्यानिटाईजरको प्रयोग गर्ने र कुनै पनि काम गरिसके पछि साबुनपानीले राम्रोसँग हात धुन भनिएको छ । होटल रेस्टुरेण्टहरुमा बसेर खान बन्द गरिएको छ तर होम डेलिभरि वा आफैले किनेर घरमा लगेर खान भने पाउँछ ।

त्यस्तै ग्याँस स्टोर (पेट्रोल पम्प), अत्यावश्यक सामानहरु आपूर्ती गर्ने वायर हाउस, खुद्रा सामानहरु पाउने ग्रोसरी स्टोरहरु पनि खुल्ला नै छन् । यहाँ केही सामानको मूल्य अलि महँगिएको छ भने स्यानिटाईजर, मास्क, हातमा लगाउने ग्लोभस जस्ता सामान पाउँन कठिन भएको छ । त्यसैले धेरैले दैनिक उपभोग्य सामान अग्रिम केही महिनालाई पुग्ने गरि किनेर राखेको पाइन्छ ।

यस्तो संकटको सामना गरिरहेका आफ्ना नागरिकलाई सरकारले आम्दानीको आधारमा बढीमा एकजना बयस्क ब्यक्तिलाई १२०० डलर र साना बालबच्चालाई ५०० डलर दिने घोषणा गरेको छ ।
जस्तै एउटा परिवारमा बुढा बुढी र एउटा बच्चा छ भने त्यो परिवारले त्यसै अनुसार पैसा पाउने भनेको छ । तर उच्च आम्दानीहुनेहरुले भने आम्दानीको आधारमा अलि थोरै पाउने भन्ने मैले सुनेको छु ।
(अमेरिकाको टेक्सास राज्यमा रहनु भएका कैलालीका थापासँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )

तपाईको प्रतिक्रिया