कोभिड १९ नियन्त्रणका लागि नेपाललाई आवश्यक पर्ने चिकित्सा सामाग्री उपलब्ध गराउन चीन तयार : राजदूत होउ

  चैत २३, २०७६

काठमाडौं, चैत २३ : नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड-१९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ । उहाँले यस विषयमा दुई देशका सरकार सम्पर्कमा रही रहेको पनि स्पष्ट पार्नु भएको छ ।

चीनको हुपई प्रान्तको वुहानबाट सुरु भएको कोरोना संक्रमणविरुद्ध ऊ सफलता हासिल गरिरहेको छ । ‘राष्ट्रपति सी चिनफिङको नेतृत्वमा महामारीलाई बिस्तारै समाधान गर्दै सकारात्मक पाटोमा ल्याउने काम भइरहेको छ । ७६ हजार संक्रमित ठीक भइसकेका छन्,’ चिनियाँ दूतावासले राजदूत होउसँगको संयुक्त अन्तर्वार्ता भन्दै पठाएको एक विज्ञप्तिमा लेखिएको छ, ‘अहिले यो महामारी विश्वभर फैलिएको छ । यसविरुद्धको लडाइँमा चीन सबैसँग हातेमालो गर्छ ।’

चीनमा बाहिरबाट आएका कोरोना संक्रमित भेटिएकाले यसलाई आयातीत संक्रमण भनिएको छ । त्यसको संख्या ९ सयभन्दा बढी रहेको जानकारी उहाँले दिनुभएको छ । चीन महामारीविरुद्ध लडिरहँदा नेपालले सहयोग उपलब्ध गराएर चीनलाई पीडामा साथ दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

उहाँले नेपालले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पनि चीनले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘सम्बन्ध र सहयोग दोहोरो हुन्छ । हामी पनि यहाँको अहिलेको अवस्थामा सहयोग गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले नेपाल मात्र होइन, १ सय २० मुलुकमा कोरोनाविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराइरहेका छौं ।’

उहाँले विश्वको आगामी सुन्दर भविष्यका लागि सबै सहयोगी हुन आवश्यक रहेको उल्लेख गर्नु भएको छ । ‘चीनले कहिले पनि चीन पहिलो भन्ने नीति लिएको छैन र लिने पनि छैन,’ उहाँले भन्नुभयो, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढ्नेछौं । नेपालजस्तो छिमेकसँग झनै निकट रहेर सहकार्य गरिरहनेछौं । हामीले हाम्रो अनुभव र सुझाव मात्र होइन आवश्यक सामग्री पनि नेपाल सरकारलाई एक लट उपलब्ध गराइसकेका छौं ।’

नेपालमा झैं लकडाउनको बाटो अपनाएर चीनले समस्या समाधान गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षणका लागि आवश्यक सामग्रीहरु सक्दो उपलब्ध गराउने उहाँले जनाएकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिसँग कूटनीतिक च्यानलमार्फत भेटघाट गरी आवश्यक सामग्री ल्याउने विषयमा छलफल गरिरहेको उहाँले उल्लेख गर्नु भएको छ । चीनले उत्पादन गरेको सामग्रीको गुणस्तरमा प्रश्न आएको विषयमा भने उहाँले मापदण्ड तोकेको कम्पनीबाट खरिद गर्दा राम्रो हुने बताउनु भयो । चीनले पनि त्यस्ता सामग्री गुणस्तर परीक्षण गरेर पठाउने उहाँको भनाइ छ । ‘सामान कमसल रहेको वा त्यो प्रमाणित छैन भने भन्सारमा रोकिने गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो परीक्षण हुन्छ ।’

सार्क राष्ट्रमा ७ हजारभन्दा बढी संक्रमण देखिएको उल्लेख गर्दै उहाँले सबै सार्क सदस्य चीनको छिमेक र छिमेक जस्तै निकट रहेकाले सहयोग रहने रहने जनाउनु भएको छ । सार्कले भिडियो कन्फरेन्स गरेर सहकार्यमा जोड दिँदा सार्कको पर्यवेक्षकको तवरबाट चीनले पनि साथ दिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया