भरतपुरमा टेकुपछि दोस्रो ठूलो प्रयोगशाला, एक सिफ्टमा ९० नमुना परीक्षण

  चैत २३, २०७६

चितवन,चैत २३ : राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ ।

मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरोना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो । प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा कोरोनाको परिक्षण गर्ने स्थापना गरिएको हो ।

प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्ला स्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमुना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गर्नु भयो ।

आइतबार एउटा नमुनामात्र प्रयोगशालामा परिक्षण गरिने छ । सो नमुना प्रदेश परिक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाईएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो ।

उहाँले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताउनु भयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो । कोरोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताउनुभयो । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि संञ्चालनमा ल्याईएको हो ।

प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा.कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना बिशेषज्ञ, प्राबिधिकहरु तयारी अबस्थामा रहेका छन् । एक सिफ्टमा ९० वटा नमुना परिक्षण गर्न सकीने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पछिको देशकै उच्च स्तरको प्रयोगशाला स्थापना भएको भन्दै उहाँले क्षमता बिस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परिक्षण गर्न सक्ने गरि प्रयोगशाला स्थापना गरिएको बताउनुभयो ।

प्रयोगशालामा भरतपुर अस्पताल, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडीकल कलेज, कलेजअफ मेडीकल साईन्सेस र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका प्राबिधिकहरुले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका उपकरणहरु ल्याईएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालय मार्फतका निकायबाट उपलव्ध भएका उपकरण र रसायनहरु प्रयोगमा ल्याईएको छ ।

राष्ट्रिय पंन्छीरोग अन्बेषण प्रयोगशालामा भएका उपकरणहरुलाई उच्चतम प्रयोग गरि कोभिड १९ प्रयोगशाला सञ्चालनमा ल्याईएको हो । सो अबसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राबिधिक बिमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रुपमा उच्च स्तरको प्रयोगशाला तयार भएको बताउनुभयो ।

कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजहरुले नमुना टेकु पठाउँदै आएकोमा केही दिन अघिबाट हेटौडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नु पर्ने माग वढेर गएको थियो ।

तपाईको प्रतिक्रिया