सुदूरपश्चिममा भेटिए तीनजना कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

  चैत २२, २०७६

काठमाडौँ, चैत २२ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताउनुभयो । तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि भारतबाट आएका दुईजनामा संक्रमण देखिएको पुष्टि गरे। ‘धनगढीमा भारतबाट आएका दुईजनामा कोभिड १९ देखिएको छ। र, निजका परिवारमा समेत संक्रमण फैलिएको आशंका गरिएको छ,’ पाण्डेले भने। यी सबैकाे स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने आफूलाई यससम्बन्धी कुनै जानकारी नभएको बताए। यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ। ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया