कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ

  चैत २२, २०७६

राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ ।

फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा व्यवस्थापन गर्न समस्या भएको कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक शङ्कर न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहत रहेको कुखुरा विकास फार्म खजुराबाट प्रत्येक हप्ता उत्पादन हुने आठदेखि १० हजारसम्म चल्लाको बिक्री वितरण कार्य ठप्प भएपछि व्यवस्थापनमा कठिन परिस्थिति आएको प्रबन्धक न्यौपानेको भनाइ छ ।

“गत हप्ता जसोतसो केही चल्ला कार्यालयको फार्ममा र कार्यालयभन्दा बाहिर किसानको फार्ममा लगेर पालिएको छ, आगामी हप्ताको चल्लालाई व्यवस्थापन गर्न निकै गाह्रो हुने भएको छ”, उहाँले भन्नुभयो, “अब आउने हप्ताको चल्ला व्यवस्थापन गर्न सकिएन भने खाल्टोमा हाल्नुपर्ने बाध्यता हुनसक्छ ।”

उहाँका अनुसार, कोरोना भाइरसको त्रासका कारण फार्ममा कार्यरत कर्मचारी आवतजावत गर्ने परिस्थिति नहुँदा चल्लाको रेखदेखमा समेत जनशक्ति अभाव भएको छ । फार्ममा हाल करिब नौ हजार कुखुरा छन् । तिनको दाना, पानी, रेखदेख, ह््याचरी मेसिन सेट गर्ने, चलाउने, चल्ला क्यान्डलिङ्ग गर्नेजस्ता दैनिक गर्नुपर्ने काम गर्नका लागि पनि कर्मचारीको अभाव हुन पुगेको छ ।

“फार्ममा दैनिक घरबाट आउने–जाने कर्मचारीलाई फार्मभित्रै राखेर काम गरिएको छ । फार्ममा बस्न सम्भव नभएका कर्मचारीलाई बिदा दिएर म आफैँ कुखुराको हेरविचारमा खटिएको छु”, प्रबन्धक न्यौपानेले भन्नुभयो । फार्ममा अहिले चार हजार कुखुराले अण्डा दिइरहेका छन् भने अर्को वर्ष अण्डा दिन तयारीका लागि चार हजार पालिएको छ । लोकल जातको कुखुरा र तिनका चल्ला गरी एक हजारको सङ्ख्यामा रहेका छन् । कोरोना भाइरसको त्रासका कारण कुखुराको दानासमेत उपलब्ध नहुँदा दाना पूर्ति गर्न कठिन भएको फार्मका प्राविधिक कमल चन्दले बताउनुभयो । दाना कम्पनीले मौज्दात सकिएको र लकडाउनमा ढुवानीको समस्या दर्शाउँदै आएको चन्दको भनाइ छ ।

लकडाउनले निजी क्षेत्रबाट ब्रोइलर कुखुरापालन गरेर जीविकोपार्जन गर्दै आएका किसान पनि प्रत्यक्ष प्रभावित भएका छन् । कुखुरा दैनिकरूपमा खपत हुने होटल व्यवसाय बन्द भएपछि बिक्री वितरण ठप्प भएको खजुरा गाउँपालिका–२ स्थित व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बिक्री गर्ने समयका कुखुरासमेत लकडाउनका कारण खोरमै दाना खुवाएर पाल्नु पर्दा आर्थिकरूपमा थप क्षति भइरहेको छ । कोरोना भाइरसको त्राससँगै अधिकांशले मासु खानसमेत बन्द गरेको उहाँको भनाइ छ ।

नेपाल भेटेरेनरी एशोसिएशनका केन्द्रीय अध्यक्ष शीतलकाजी श्रेष्ठले माछा–मासु खाँदैमा कोरोना भाइरस सर्ने भन्ने कुरा गलत रहेको बताउँदै माछामासुको नियमित प्रयोगले भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्न सघाउने हुँदा राम्रोसँग पकाएर खानुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया