‘उपचारमा कुनै कमी नहोस्’

  चैत २२, २०७६

काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

म्सका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा कोरोना भाइरस (कोभिड–१९)को उपचारको तयारीबारे जानकारी लिने क्रममा उहाँले अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोनाबाहेकका अन्य रोगका बिरामीले दुःख नपाऊन् भन्ने कुरामा राज्य संवेदनशील रहेको पनि उहाँले बताउनुभयो । बिरामीको उपचार बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन उहाँले निर्देशन दिनुभएको मन्त्री ढकालको निजी सचिवालयले जनाएको छ ।

न्याम्सका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने प्रतिबद्धता जनाएका छन् । न्याम्सका उपकुलपति डा. देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया