कोरोना भाइरसको सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’

  चैत २१, २०७६

काठमाडौं, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रास फैलिएसँगै हुन सक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।

यो एपबाट घरेलु हिंसा, अपहरण, लागूआंषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अन्य विविध घटना बारेमा प्रयोगकर्ताहरूबाट जानकारी प्राप्त गर्न सकिने जनाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा हुन सक्ने अपराधका घटना नियन्त्रण गर्न आवश्यक सूचना सहयोगका लागि एप प्रयोगमा ल्याइएको बताउनुभयो ।

यो एप मार्फत् कोभिड–१९ का सम्भावित संक्रमित व्यक्ति वा जोखिममा रहेका व्यक्तिको बारेमा सूचना तथा जानकारी दिन वा लिन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । लक डाउन उल्लंघन, कालोबजारी नियन्त्रण र राहतको अभाव भएकाहरूको विषयमा पनि सूचना दिन सकिने छ ।

कोरोनाबाट जोगिन सर्वसाधारणले अपनाउनु पर्ने स्वास्थ्य तथा सरसफाई सतर्कता सम्बन्धी सन्देशमूलक सामाग्रीहरु समेटिएको नेपाल पुलिस मोबाइल एपलाई डाउनलोड गरी अधिकतम प्रयोगमा ल्याउन प्रहरीले सर्वसाधारण नागरिकमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया