मीन भामको रोजाइका १० फिल्म

  चैत २१, २०७६

काठमाडौँ, चैत २१ : बिहीबार निर्देशक अनुप बरालको रोजाइका २० फिल्म हामीले प्रस्तुत गरेका थियौं । यी फिल्म लकडाउनकै अवधिमा मात्रै हेर्नुपर्छ भन्ने छैन । तपाईंलाई मुड भएका बेला जुन बेला हेर्दा पनि हुन्छ ।

आज भने हामीले ‘सँधै लकडाउनमा रहने’ निर्देशक मीन भामको रोजाईका १० फिल्म सिफारिस गरेका छौं। मीन अरुबेला पनि घरबाट खासै बाहिर निस्किदैनन्। उनी घरमा बस्न आनन्द मान्छन्। त्यसैले यो लकडाउनले उनलाई खासै प्रभाव पारेको छैन। उनी घरमै फिल्मको स्क्रिप्ट लेख्छन्, फिल्म हेर्छन्, पुस्तक पढ्छन् ।

‘कालो पोथी’ फिल्मबाट संसारभर चर्चा कमाएका मीन आफ्नो दैनिकी पहिल्यैदेखि लकडाउन रहेको बताँछन्। ‘मेरो त जहिल्यै लकडाउन हो। अहिले लकडाउन झन गजब्ब भइरहेको छ। अरुबेला पनि घरमै बसिरहेको हुन्थें,’ निर्देशक मीन भामलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

अहिले उनी फिल्महरु हेरिरहेका छैनन्। दर्शन र मानव अस्तित्वसम्बन्धि धेरैभन्दा धेरै पुस्तक पढिरहेका छन्। सेल्फ क्वारेन्टाइनमा स्क्रिप्ट लेखनसँगै कविता पनि लेख्दैछन्। ध्यान पनि गरिरहेका हुन्छन्। त्यससँगै खाना पकाउने र बगैंचाको हेरचाह गरेरै दिन बिताइरहेका छन् ।

लकडाउनमा बसेका फिल्मप्रेमी दर्शकका लागि उनले आफ्ना रोजाइका १० फिल्म यहाँ सिफारिस गरेका छन्। यस्ता छन् फिल्मसूची:
१. २००१ : अ स्पेस ओडिसी (१९६८) निर्देशक : स्टान्ली कुब्रिक
२. अमोर (२०१२) निर्देशक : माइकल हेनेकी
३. इन द मुड फर लभ (२०१३) निर्देशक : वङ कर वाई
४. ब्लु इज द वार्मेस्ट कलर (२०१३) निर्देशक : अब्लेटिभ केसिस
५. स्प्रिङ, समर, फल, विन्टर एण्ड स्प्रिङ (२००३) निर्देशक : किम कि डुक
६. पोइट्री (२०१०) निर्देशक : लि चाङ दोङ
७. सिटिजन केन (१९१४) निर्देशक : आर्सन वेल्स
८. इरेजरहेड (१९७६) निर्देशक : डेभिड लिन्च
९. मिरर (१९७५) निर्देशक : आन्द्रेई तारकोवस्की
१०. टेस्ट अफ चेरी (१९९७) निर्देशक : अब्बास किरुस्तामी

आफ्ना रोजाईका फिल्मबारे व्याख्या गर्न भने मीन त्यति रुचाउँदैनन्। ‘किनकि यी फिल्महरु शब्दमा भन्दा पनि हेरेरै अनुभुत गर्ने फिल्हरु हुन्,’ उनी भन्छन्। यीमध्ये कुब्रिकको मास्टरपिस ‘२००१ : अ स्पेस अफ ओडिसी’ ले उनलाई फिल्म मेकिङको गहिराईमा जान प्रेरित गरेको थियो ।

‘यी फिल्मका निर्देशकहरुले त्यी आवाजहरु नबोलेका भए, खै कसले बोल्थ्यो होला?’ उनको मनमा प्रश्न उब्जिन्छ। यी सबै फिल्ममा निर्देशकको क्षमता, मजबुत फर्म र कन्टेन्ट छन्। एब्सर्ड र प्रभोकेटिभ फिल्मका घतलाग्दा दृश्यहरु छन्। परम्परागत र रियलिस्टिक मेकिङ यी फिल्ममा पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया