एकसाता लम्बियो भर्चुअल रंगमञ्च महोत्सव

  चैत २१, २०७६

काठमाडौँ, चैत २१ : घरमै बसेर नाटक हेर्न मिल्ने गरि थालिएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को अवधि एक हप्ता थपिएको छ । लकडाउनलाई लक्ष्य गरि अघिल्लो सातादेखि सुरु भएको महोत्सवले बिहीबार एक साता पूरा गर्‍यो । 

सातौं दिन बिहीबार एक्टर्स स्टुडियोको ‘शकुन्तलाको औंठी’ नाटकसँगै एक हप्ताको पहिलो चरण सकिने भएकोले अर्को एक साता समयावधि थप गरिएको महोत्सव निर्देशक केदार श्रेष्ठले जनाए । थिएटर मल कीर्तिपुर र थिएटर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्तरुपमा गरेको ‘भर्चुअल रंगमञ्च महोत्सव’ दर्शकहरुको अत्यन्तै राम्रो सहभागिता र प्रतिक्रियाका कारण एक साता अवधि थप गरिएको उनले बताए ।

महोत्सव अर्न्तगत थिएटर मलको अफिसियल फेसबुक पेजबाट हरेक साँझ ५ बजे नयाँ नाटकको भिडियोलाई लाइभ स्ट्रिमिङ गरिँदै आएको छ । महोत्सवको पहिलो दिन ‘मान भर्सेस मती’ को भिडियो देखाइएको थियो । यो नाटकमा परिवार सुखमय हुन श्रीमान् र श्रीमतीबीचको पारस्परिक समझदारी र विश्वास कति हुनुपर्छ भन्ने भाव र विषय समेटिएको छ । यसपछि क्रमशः ‘राजेन्द्र लक्ष्मी’, ‘जालिनी’, ‘पाँच’, ‘एक बोली एक दाम’, ‘नथिङ टु से’ जस्ता नाटकका भिडियोलाई प्रस्तुत गरिसकेको छ ।

बिहीबारको नाटक ‘शकुन्तलाको औंठी’ रंगकर्मी अनुप बरालको सुपरभिजनमा तयार पारिएको हो । भारतीय साहित्यकार सुरेन्द्र वर्माको लेखन तथा सुरज मल्लको निर्देशन रहेको नाटकमा आम मानिसको अस्तित्वलाई चित्रण गरिएको श्रेष्ठले बताए । उनका अनुसार नाटकमा अस्तित्वसँगै प्रेम, आशा र विश्वासका पराकाष्टालाई देख्न सकिन्छ । निर्देशक मल्लसहित, दिया मास्के, विकास न्यौपाने, आशिष श्रेष्ठ, सुनिल खड्का, अनिल थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

महोत्सवको दोस्रो चरणका लागि सोमबारसम्म देखाइने नाटकहरु तय भइसकेको निर्देशक श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार आज शुक्रबार ‘उपियाँको निबन्ध’ नाटकको भिडियो देखाइने छ । त्यस्तै शनिबार ‘कथाघेरा’ र कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’को भिडियो स्ट्रिमिङ हुनेछ । दुबै नाटकहरुमा बालबालिका लक्षित विषयवस्तु रहेको श्रेष्ठले सुनाए । ‘यो साता बालबालिकालक्षित नाटकमा जोड दिँदै छौं,’ उनले भने, ‘त्यसैले साताको सुरुवातमा नै लगातार दुई नाटक बालबालिका लक्षित नाटक छनौट गरिएको हो ।’

आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लको लेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाइने छ भने सोमबार आरोहण गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो लाइभ स्ट्रिमिङ गरिनेछ । युजिन ओनिलको लेखन रहेको नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

अझै नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको महोत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए । उनका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, ‘पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ यसै साता प्रदर्शन गरिने सूचीमा परेका छन् । त्यसका लागि मिति क्रम तय भइसकेको छैन । महोत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शनको सूचिमा रहेको उनले उल्लेख गरे ।

महोत्सवमा विभिन्न नाट्यसमूहका साथै विमल सुवेदी, लुनिभा तुलाधर, बिजय बराल, नाजिर हुसेन, रामहरि ढकाल, मनिष निरौला, भोलाराज सापकोटा, सरिता गिरी, पशुपति राई लगायतका रङ्गकर्मीहरूले भिडियो सन्देशमार्फत उत्सवमा सहभागिता जनाइरहेको फेस्टिभल संयोजक सञ्जिता पराजुलीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया