‘जी टू जी’बाट सामान ल्याउने निर्णयबारे मन्त्रीहरू नै बेखबर

  चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सरकारले ‘जी टू जी’ प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा मन्त्रिपरिषद्‌ बैठकमा कुनै छलफल नभएको खुलेको छ । बैठकमा संलग्न मन्त्रीहरूका अनुसार आइतबार (१६ गते) को मन्त्रिपरिषद् बैठकमा ‘जी टू जी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने कुरै उठेकै थिएन । बरु त्यो बैठकमा प्रधानमन्त्रीले स्वास्थ्य विभागले नियमसंगत तरिकाले स्वास्थ्य उपकरण खरिद गरेको जिकिर गरेका थिए ।

‘स्वास्थ्य मन्त्रालयले खरिद गरेको उपकरणका विषयमा कुरा उठेको थियो,’ वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भने, ‘तर जी टू जी विधिबाट स्वास्थ्य उपकरण किन्ने भन्नेबारे छलफल भएन।’ अरु मन्त्रीहरू मात्रै होइन कोभिड-१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यले समेत सरकारले निर्णय गरेर नेपाली सेनाबाट प्रक्रिया सुरु भइसकेको यो विषयमा अनभिज्ञता जनाए।

बिहीबारको समितिको बैठकमा अब ‘जी टू जी’बाटै सामान खरिद गर्नुपर्ने विषयमा मन्त्रीहरूले कुरा उठाएका थिए। त्यस विषयमा थप छलफल भने भएन। समितिका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जी टू जी प्रक्रियाबाट स्वास्थ्य उपकरण खरिद गर्ने सन्दर्भमा समितिमा कुरा भएको बताए। ‘छलफल भएको हो, निर्णय भने भएको छैन,’ उनले भने। मन्त्रिपरिषद्ले निर्णय गरेको हो भन्ने प्रश्नमा अर्का एक मन्त्रीले भने, ‘यो विषयमा क्याबिनेटमा छलफल र निर्णय भएको छैन।’

बिहीबार समितिको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री युवराज खतिवडाले समेत जी टु जी प्रक्रियाबारे सामान खरिद गर्न सकिन्छ भने त्यो पनि सुरू गर्ने भनेर छलफल भएको बताए। तर सरकारले निर्णय गरिसकेको विषयमा भने उनले केही पनि उल्लेख गरेनन्।

यसअघि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपाली सेनाले नै स्वास्थ्य उपकरण किन्ने खबर पाएको बताएका थिए। ‘जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘हिजो रद्द गरेपछि आज पुन: नयाँ सूचना निकाल्न लागेका थियौं। तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनौं।’

उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएको स्पष्ट पारे। ‘मलाई पनि धेरै थाहा छैन। सेनाले खरिद गर्ने भएको छ भनेपछि हामीले सेनासँग केके सामान चाहिन्छ भनेर छलफल अगाडि बढाएका छौं,’ उनले भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रक्षा र स्वास्थ्य मन्त्रालयमा भएको परिपत्रअनुसार गत १६ गतेको मन्त्रिपरिषद् बैठकले जी टू जी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय भएको हो। ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जी टू जी) विधिबाट खरिद गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ४ मा उल्लेख छ। परिपत्रअनुसार नेपाली सेनाले स्वास्थ्य उपकरण खरिदबारे प्रक्रिया पनि सुरु गरिसकेको इकान्तिपुरमा उल्लेख छ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री युवराज खतिवडाले जी टु जी प्रक्रियाबारे सामान खरिद गर्न सकिन्छ भने त्यो पनि सुरू गर्ने भनेर छलफल भएको बताए। तर सरकारले निर्णय गरिसकेको विषयमा भने केही पनि उल्लेख गरेनन् ।

तपाईको प्रतिक्रिया