सीमामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइन बसेपछि मात्र आउन दिने निर्णय

  चैत २०, २०७६

काठमाडौं, चैत २० : भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ ।

धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् । तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले पनि तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको छ । ‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं,’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।

सोही बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको अनलाइन खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया