दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो

  चैत २०, २०७६

नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ ।

दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्टसहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा ती नेपालीहरुलाई राखिएको हो ।

कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लक डाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमबार ती नेपालीहरु जमुनाहसम्म आएका थिए ।

भारतमा रहेका नेपालीलाई भारतले र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्नुपर्ने सहमति बनेको भए पनि अलपत्र नेपालीहरुले भारतीय क्वारेन्टाइनमा नबस्ने अडान लिँदै दशगजामा धर्ना दिएका थिए ।

नेपालतर्फ पनि ल्याउन नमिल्ने र भारतमा पनि नबस्ने भएपछि अलपत्र नेपालीको व्यवस्थापन अनिश्चित बनेको थियो ।

उनीहरु खुल्ला आकाशमुनी दिन रात काटिरहेका थिए । स्थानीय प्रशासनमाथि यस्तो अवस्थामा रहेका नेपालीको उद्धार गर्नुपर्ने चौतर्फी दवाव थियो ।

दवावकै बीच बिहीबार विहान नेपाली सेनाको चार नम्बर बाहिनीले दुई घण्टामा ४५ टेन्टसहितको अस्थायी क्वारेन्टाइन निर्माण गरेको थियो । सोही टेन्टमा अलपत्र नेपालीहरुलाई राखिएको छ ।

सूविधा सम्पन्न टेन्टमा राखिएपछि उद्धार गरिएका नेपालीहरु खुःसी भएका छन् । उनीहरुले आफुहरुलाई घरमै पुगेझैं महसुस भएको प्रतिक्रिया दिएका छन् ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मीद्वारा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । खाना व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गर्दै आएको छ । सरसफाई र शौचालयको व्यवस्थापन पनि भएको छ ।

सुरक्षाका लागि सो स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

तपाईको प्रतिक्रिया