फोर्ब्सको ‘थर्टी अन्डर थर्टी-एसिया’को सूचीमा ६ नेपाली

  चैत २०, २०७६

काठमाडौँ, चैत २० : एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा यस वर्ष नेपालका ६ जना युवा परेका छन् । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी–एसिया’को सूचीमा यसवर्ष नेपालबाट प्रतिमा शेर्पा, शुभाङ्गी राना, जेसेलिना राणा, निकिता आचार्य, किरण तिमिल्सिना र रोहित तिवारी परेका हुन् ।

फोर्ब्सले तयार पारेको ३० वर्षमुनिका प्रभावशालीको व्यक्तिको सूचीमा परेकी प्रतिमा राणा गल्फर हुन् भने अन्य ५ जना भने उद्यमी हुन् । फोर्ब्सको सूचीमा परेका नेपाली युवाबारे इकान्तिपुर अनलाइनले तयार पारेको संक्षिप्त जानकारी :

प्रतिमा शेर्पा, गल्फर
फोर्ब्सको खेलतर्फको सूचीमा पर्न सफल प्रतिमा शेर्पा महिलातर्फ नेपालकै नम्बर एक खेलाडी हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको नेपाल गल्फ क्लबको तेस्रो होलनजिकै रहेको सानो झुप्रोमा हुर्किएकी थिइन्। उनका बुवाआमा क्लबमै काम गर्थे। ११ वर्षको उमेरदेखि नै प्रतिमाले गल्फ खेल्न थालेको समाचार ‘गल्फ डाइजेस्ट’ पत्रिकाले छापेपछि त्यतिबेलाका विश्व वरीयतामा शीर्ष स्थानमा रहेका गल्फर टाइगर उड्सले अमेरिका बोलाएका थिए। उनी अहिले अमेरिकाको सान्टा बारबारा सिटी कलेजमा बीबीए दोस्रो वर्षमाअध्ययनरत छिन्। साथै आफ्नो गल्फ करियरलाई अगाडि बढाएकी छिन् ।

रोहित तिवारी, संस्थापक–फुडमारियो
फोर्ब्स पत्रिकाको ‘थर्टी अन्डर थर्टी एसिया’ को सूचीमा परेका रोहित तिवारी अनलाइन फुड डेलिभिरी कम्पनी फुडमारियोका संस्थापकमध्येका एक हुन्। फुडमारियोले होटेल तथा रेस्टुरेन्टका भन्दा पनि घरमा पाकेका खानेकुरा डेलिभरी गर्दै आएको छ। गृहणी, विद्यार्थीले घरमै बनाएका खानेकुरा उसले डेलिभरी गर्दै आएको छ।

निकिता आचार्यकिरण तिम्सिना, संस्थापक-अर्बन गर्ल
२ सय अमेरिकी डलरको सुरुवाति लगानीबाट निकिता र किरणले सन् २०१२ मा अर्बन गर्लको स्थापना गरेका थिए। अर्बन गर्लले फेसन ज्वेलरी, टिसर्ट, वाटर बोटल, मेकअप सामग्रीलगायतका सामग्री बेच्दै आको छ। अहिले यसमा करिब ५० जनाले जागिर पाएका छन्। त्यस्तै पोखरामा पनि यसले आफ्नो व्यवसाय विस्तार गरेको छ। सन् २०१६ बाट अर्बन गर्लले यूजी केक्समार्फत अनलाइनबाट बेकरी सामग्री पनि बेच्दै आएको छ ।

शुभाङ्गी राणाजेसेलिना राणा, संस्थापक–प्याड टु गो
पेशाले शुभाङ्गी इन्जिनियर र जेसेलिना वकिल हुन्। उनीहरुले सन् २०१८ मा ‘प्याड टु गो’को स्थापना गरेका हुन्। प्याड टु गो नाफामूलक सामाजिक व्यावसायिक संस्था नै हो जसले महिनावारी स्वास्थ्य र यससँग जोडिएका रुढिवादी परम्पराविरुद्ध सचेतना जगाउने काम गर्छ। यसले नेपालका ४ वटा प्रदेशमा करिब ८० वटा स्यानिटरी प्याड भेन्डिङ मेसिन राखेको छ ।

अस्पताल, विद्यालय, सिनेमाघरलगायतका संघसंस्थामा राखिएका यस्ता मेसिनले २ सय जनासम्म महिलालाई स्यानिटरी प्याड उपलब्ध गराउन सक्छन्। ‘प्याड टु गो’ले यसअघि स्विजरल्यान्डमा आयोजित ‘आगुसान वर्कसप’ प्रथम पुरस्कार पनि जितेको थियो ।

यसवर्ष फोर्ब्सको ‘थर्टी अन्डर थर्टी–एसिया’ को सूचीमा नेपालसँगै फिलिपिन्स, मलेसिया, बंगलादेश, दक्षिण कोरियालगायतका देशका युवा उद्यमी तथा समाज परिवर्तनको संवाहक बनेका व्यक्तिहरु रहेका छन्। फोर्ब्सको यो सूचीका लागि करिब ३ हजार ५ सय भन्दा बढीको आवेदन परेको थियो ।

त्यसमध्येबाट उद्यम, अन्वेषण, खेल, कला, सामाजिक परिवर्तन लगायतका विभिन्न १० विधामा ३०-३० जना छानिएका हुन्। यो वर्षको निर्णायकमा जापानी इन्टरनेट सेवा प्रदायक कम्पनी राकुटेनका सीईओ मिकी मिकितानी, एचसीएल कर्पोरेसनकी सीईओ रोश्नी मल्होत्रालगायतका व्यक्ति थिए ।

तपाईको प्रतिक्रिया