अमेरिकामा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो

  चैत २०, २०७६

वासिङ्टन, चैत २० : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ४ हजार ७ सय ५७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख १३ हजारभन्दा बढी पुगेको छ ।

न्युयोर्कमा मात्रै करिब २ हजारको मृत्यु
अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म एक हजार ९ सय ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या करिब ८३ हजार पुगेको छ । न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो ।

न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । बिहीबार बिहानसम्म न्यु जर्सीमा २६७ को मृत्यु भएको छ भने करिब १८ हजारमा संक्रमण देखिएको छ ।

यसैबीच ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरसको एन्टीबडी टेस्ट यही महिनाभित्रै हुने बताएकी छिन् । उनले सबै विश्‍वविद्यालय र राज्यलाई एन्टीबडी परीक्षण विधि इन्जाइम-लिंक्‍ड इम्युनोसोर्बेन्ट असे (ईएलआईएसए) को विकास गर्न निर्देशन दिइसकेको बताएकी इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४६ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या ९ लाख ३२ हजारभन्दा बढी पुग्दा एक लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया