कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, सनैयाको लकडाउन थपियो

  चैत २०, २०७६

काठमाडौं, चैत २० : कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । यो दुई हप्ताका लागि लागु हुनेछ ।

प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो । अब रोजगारदाताले २० प्रतिशत कामदारलाई मात्रै कार्यालयमा काममा लगाउन पाइनेछ। तर, खाद्यान्य, औषधि र घरघरमा खाना पुर्‍याउने रेष्टुरेन्टको लागि भने यो नियम लागू हुने छैन।

सरकारले विभिन्न सरसफाइ कम्पनीबाट घरको काम गर्न पठाउने कार्यलाई समेत रोकेको छ। कतारमा विभिन्न कम्पनीले महिलालाई घण्टा वा दिनभर घरेलु कामको लागि घरघरमा पठाउँदै आएको थियो। यसमा नेपाली महिलाको बाहुल्यता छ।

कामदार बोक्ने बसले सिट क्षमता अनुसार कामदारलाई बोक्न पनि रोक लगाएको छ। त्यस्तो बसले सिट क्षमताको आधा मात्रै कामदार बोक्न पाइनेछ । अत्यावश्यक सेवा र राष्ट्रिय निर्माण आयोजनामा काम गर्ने कम्पनीको लागि भने नयाँ निर्णय लागू नहुने बताइएको छ।

सनैयाको लकडाउन बढ्यो
कतारले झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने सनैयाको लकडाउनको समयावधि बढाएको छ। सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई सिल गर्दै लकडाउन गरेको थियो।

मन्त्रीस्तरीय बैठ्कपछि आयोजित पत्रकार सम्मेलनमा उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधि बढाइएको बताइन् ।

त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशील रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको प्रवक्ता खतिरले बताइन्। यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्‍नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्रमा परीक्षण भइरहेको छ ।

थप ५४ जनामा कोरोना संक्रमण
कतारमा बुधबार मात्रै ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका अनुसार कोरोना संक्रमितको सख्या ८ सय ३५ पुगेको छ। ७१ जनालाई निको भएको छ। दुई जनाको मृत्यु भएको छ। कतारमा अहिलेसम्म२४ हजार ८ सय २५ जनाको स्वास्थ्य परीक्षण भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्‍वाजले कोरोना भाइरस नियन्त्रणको लागि कतार सरकारले लिएका मापदण्डलाई कडाइका साथ पालना गर्नको लागि नेपाली समुदायलाई आग्रह गरेका छन् । कतारमा तीन लाख ५१ हजार नेपाली कार्यरत छन् ।

यसैबीच कतार रेडक्रससँगको समन्वयमा गैरआवासीय नेपाली संघ कतारले खाद्यान्‍नको अभाव झेलिरहेका कामदारलाई खाद्यान्‍न वितरण गरिरहेको छ। संघका अध्यक्ष मुक्तदा मुसलमानले खानाको अभाव भएमा संघलाई खबर गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया