राहत बाँड्ने विषयमा झडप हुँदा १२ घाइते

  चैत १९, २०७६

वीरगन्ज, चैत १९ : लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा दुई समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको फुटेको छ , हात भाँचिएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

लकडाउनको समयमा आपत्‌मा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन महानगरपालिकाले वडालाई एक लाख २५ हजार रुपैयाँ पठाएको थियो। जसका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा सर्वदलीय राहत वितरण समिति गठन भएको थियो।

मंगलवार वडा समितिको कार्यालयमा बसेको सर्वदलीय बैठकले आपतमा परेका वास्तविक परिवार संख्याको विवरण संकलन गर्न दुईवटा समिति बनाइएको थियो। समितिले नामावली संकलन गरेपछि राहत वितरण गर्ने निर्णय भएको थियो।

बुधवार बिहान परिवार संख्या पहिचान गर्ने क्रममा दुई समूहबीच झडप भएको हो। स्थानीयका अनुसार समितिका सदस्यले आफू निकटका व्यक्तिहरुको मात्र नाम संकलन गरेको आरोप लगाउँदै उपेन्द्र यादवको पक्षले विरोध गर्दा झडप भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

विरोधपछि भएको झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका छन्। झडपमा घाइते भएका समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा उपेन्द्र र उनका परिवारका सदस्यले अनावश्यक विवाद खडा गरी आफूमाथि कुटपिट गरेको बताए।

उक्त झडपमा उपेन्द्रको पक्ष समेत घाइते भएका छन्। अस्पतालमा उपचार गराइरहेका उपेन्द्रका अनुसार समितिमा रहेका प्रभु यादवले प्रभावित परिवारको लगत संकलनमा पक्षपात गरेका कारणले आफूले विरोध गरेको दाबी गरेका छन्।

वडा अध्यक्ष सन्तोष तिवारीका अनुसार राहत वितरणका लागि नामावली संकलन गर्ने विषयमा झडप भएको हो। ‘राहत वितरणका लागि नामावली संकलनका लागि मंगलबार सर्वदलीय बैठकबाट दुईवटा समिति बनाएका थियौँ,’ वडा अध्यक्ष तिवारीले भने, ‘त्यही नामावली संकलन गर्ने क्रममा बुधबार झडप भएको हो।’ झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको उनले जनाए।

प्रदेश सरकारले लकडाउनको समयमा आपतमा परेका परिवारलाई खाद्यान्न व्यवस्थापनका लागि वीरगन्ज महानगरपालिकालाई २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। प्रदेश सरकारको अनुदानमा महानगरले आफ्नो विपद् व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ थपेर प्रत्येक वडाको जनसंख्याको आधारमा राहत रकम पठाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया