इजरायलद्वारा जनावरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण

  चैत १९, २०७६

जेरुसेलम, चैत १९ : इजरायलले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आदेशअनुरुप इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिन र उपचारका बारेमा अनुसन्धान थालेको थियो। मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि हुनुपूर्व नै प्रधानमन्त्री नेतान्याहुले आईआईबीआरलाई भ्याक्सिन र औषधिबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। त्यही निर्देशनअनुसार नै इजरायलको नेस जिओनामा रहेको प्रयोगशालाले भ्याक्सिनको निर्माण र परीक्षण सुरु गरेको हो ।

प्रधानमन्त्री बेन्यामिनको कार्यालयमार्फत जारी गरिएको वक्तव्यमा आईआईबीआरका निर्देशक श्मुएल शापिराले भ्याक्सिनको निर्माणमा र परीक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको र छिट्टै नै जनावरमा परीक्षण गरिने जानकारी दिएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

रोयटर्सका अनुसार आईआईबीआरले मुसा जातिको जनावरमा भ्याक्सिनको परीक्षण सुरु गरिसकेको छ। तर मुसा जातिको कुन जनावरमा परीक्षण सुरु गरिएको हो भन्नेबारे भने आईआईबीआरले केही जानकारी दिएको छैन ।

विदेशी सञ्चारमाध्यमहरुका अनुसार आईआईबीआर जैविक र रासायनिक हतियारमा निर्माणमा संलग्न रहेको छ। इजरायले भने यसबारेमा खण्डन र स्वीकार केही गरेको छैन। मार्च महिनाको दोस्रो हप्तामै इजरायली सञ्चारमाध्यम हाअरेत्जले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा इजरायलले ब्रेकथ्रू गरेको समाचार प्रकाशित गरेको थियो। तर त्यतिबेला भने आईआईबीआरले त्यो समाचारको खण्डन गरेको थियो। त्यतिबेला इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलता हात नपारेको बताएको थियो। साथै आईआईबीआरले आफ्नै कार्यतालिकाअनुसार चल्ने र कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन समय लाग्ने बताएको थियो ।

गत हप्ता भने आईआईबीआरका आविस्कार अधिकारी इरान जाभीले कोरोना भाइरस संक्रमणको उपचारका बारेमा इन्स्टिच्युटले तीन समूहमा काम गरिरहेको बताएका थिए। त्यसमा एउटा समूह कोरोना भाइरसको भ्याक्सिन निर्माण र रोगको कारक पत्ता लगाउन तथा अरु समूहले उपचार पद्धतिका बारेमा अनुसन्धान गरिरहेको उनले जानकारी दिएका थिए। साथै जाभीले कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जनावरमा गर्नु निकै चुनौतीपूर्ण कुरा भएको बताएका थिए। विश्वव्यापी महामारी रुप लिएको कोरोना भाइरसको असर जनावरमा नदेखिएको उल्लेख गर्दै उनले यसको परीक्षण चुनौतीपूर्ण भएको बताएका थिए। साथै इजरायलले आफूले निर्माण गरेको भ्याक्सिन मानिसमा परीक्षण गर्न भने समय लाग्ने बताएको छ ।

गत हप्ता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध अहिले कम्तीमा पनि २० वटा भ्याक्सिनको निर्मण भइरहेको बताएको थियो। कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मार्च १६ मा मानिसमा परीक्षण गरिएको हो ।

ह्वाइट हाउसका चिकित्सा सल्लाहकार तथा अमेरिकाका सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले कुनै पनि भ्याक्सिन औपचारिक रुपमा प्रयोगमा आउन १२ देखि १८ महिना लाग्ने बताएका थिए ।

इजरायलमा बुधबार दिउँसोसम्म ५ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै २१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि इजरायलमा सर्वसाधारणको आवतजावतमा कडाइ र धेरै ठाउँमा लकडाउन गरिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका इजराली प्रधानमन्त्री नेतान्याहु र सेना प्रमुख अभिभ कोहाभी यसै हप्तादेखि सेल्फ आइसोलेसनमा बसेका थिए। प्रधानमन्त्री नेतान्याहुको सोमबार आएको स्वास्थ्य परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको छ। सेनाप्रमुखको भने रिपोर्ट आउन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया