चीनबाट ल्याइएको पीपीई चिकित्सकले लगाउन मानेनन्

  चैत १९, २०७६

काठमाडौं, चैत १९ : स्वास्थ्य मन्त्रालयले चीनबाट झिकाएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकले लगाउन अस्वीकार गरेका छन् । प्रदेश १ मा पठाइएको एक हजार थानभन्दा बढी पीपीई कोरोना भाइरसको जोखिमबाट बच्न काम नलाग्ने स्तरको रहेको चिकित्सकहरुको ठहर छ ।

‘काठमाडौंबाट पठाइएको पीपीई खोलेर हेर्दा हामी छक्क पर्‍यौं, त्यसमा एउटा गाउन मात्रै थियो, त्यसले भाइरस छेक्दैन,’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सकले भने, ‘पीपीई भनेको सिंगै सेटलाई नै बुझ्नुपर्ने हुन्छ, जसमा तलदेखि माथिसम्म ढाक्ने  वाटरप्रुफ गाउन, अनुहार छेक्ने फेस सिल्ड, एन-९५ मास्क, बुट, बुट कभर, गगल्स र दुई/तीन सेट पञ्जासमेत हुनुपर्छ, अनि बल्ल त्यसलाई एक सेट पीपीई मान्न सकिन्छ ।’

तर, चीनबाट स्वास्थ्य मन्त्रालयले खरीद गरेर  प्रदेशमा पठाएको पीपीईमा एउटा गाउनमात्रै भएको चिकित्सकले अनलाइनखबरलाई जानकारी दिए । कोरोना भाइरसको सुरक्षामा यस्तो पीपीई काम नलाग्ने उनले बताए ।

पीपीईको वितरण वीचैमा रोकियो

चिकित्सकहरुले पीपीई गुणस्तरीय नभएको र पूरै सेट नआएको भन्दै आपत्ति जनाएपछि प्रदेश १ सरकारले अस्पतालहरुमा यसको वितरण रोकेको छ ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘संघले पठाएको सामान सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुझ्नुभएको थियो । केही थान पीपीई अस्पतालहरुमा पठाइसकिएको थियो, तर, अहिले मुख्यमन्त्रीज्यूले रोक्न भन्नुभएको छ ।’ काम नलाग्ने पीपीई संघमै फिर्ता पठाउने या के गर्ने भन्नेबारे प्रदेश १ सरकार अनिणिर्त छ ।

यसैवीच, चीनबाट मेडिकल सामग्री खरीद गर्नका लागि सरकारले गरेको ठेक्का सम्झौता बुधबार रद्द भएको छ । सम्झौता रद्द भए पनि नेपालमा भित्रिइसकेका कमसल सामग्री के गर्ने भन्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पार्न सकेको अनलाइन खबरमा उल्लेख छ ।

स्वास्थ्य विभागका महानिर्देक महेन्द्रप्रसाद श्रेष्ठले सामान खरीद प्रक्रियामा संलग्न ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखिने बताएका छन् । तर, यसबारे निर्णय लिने नीति निर्मातामाथि के हुन्छ, सरकारले बोलेको छैन ।

सात प्रदेशमा कति पीपीई ?

गृह मन्त्रालय र प्रदेशिक स्वास्थ्य सेवा निर्देशनालयको मंगलबारसम्मको तथ्यांकअनुसार सात प्रदेशमा ११ हजार ७७ थान पीपीई पठाइएको छ ।

प्रदेश १ मा १६१९ थान र प्रदेश २ मा १२३१ थान पीपीई पठाइएको छ । प्रदेश ३ मा २६२५ थान -काठमाडौं उपत्याका बाहेक) पीपीई वितरण गरिएको छ । गण्डकी प्रदेशमा १६६६ थान, प्रदेश ५ मा १४०८ थान, कर्णाली प्रदेशमा १२३७ थान र सुदूरपश्चिम प्रदेशमा १२९१ थान गरी कुल ११०७७ थान पीपीई देशैभरि पुर्‍याइएको छ ।

स्वास्थ्य मन्त्रालयले पीपीईको वितरणलाई आफ्नो उपलब्धीका रुपमा लिएको थियो । तर, यसको गुणस्तरमाथि नै प्रश्न उठेपछि र ठेकदारलाई कालोसूचीमा राख्ने तयारीपछि प्रदेशमा पठाइएको पीपीईको अवस्था के हुने भन्ने अन्योल देखा परेको छ ।

तपाईको प्रतिक्रिया