स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

  चैत १९, २०७६

काठमाडौँ, चैत १९ : स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ  । विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन्। विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन् ।

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्‍यापिड टेस्टिङ किट अहिले गोदाममा थन्‍किएको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो ।

‘कोभिड–१९ परिक्षण गर्न द्रुत परीक्षण किटको उपयोग गर्न डब्लुएचओले सिफारिस गरेको छैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कान्तिपुरसँग भनिन्, ‘किनभने यसको परीक्षण परिणाम सतप्रतिशत विश्वसनीय छैन ।’

तपाईको प्रतिक्रिया