कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

  चैत १९, २०७६

काठमाडौं, चैत १९ : अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।

अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए ।

‘मेडिकल उपकरणहरु किनेर अस्पतालहरुको स्तरोन्नति गर्न यो रकम खर्च हुन्छ,’ उनले भने, ‘अहिलेसम्म स्वास्थ्यलाई वार्षिक स्वीकृत बजेटभन्दा थप रकम दिनुपरेको छैन ।’

त्यसैगरी ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको छ । चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको अनलाइन खबरमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अहिलेकै अवस्थामा कोरोनाको रोकथामका लागि बजेट अपर्याप्त हुने देखिएको छैन । तर, दिनदिनै परिस्थिति बदलिने र त्यसकै आधारमा आँकलन गर्नुपर्ने भएकाले यसै भन्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सहसचिव शर्माले राजश्वको असुली प्रभावित भएपनि खर्च पनि घटेको अवस्थामा कोरोनाविरुद्ध भविष्यमा आवश्यक पर्ने बजेटको अभाव भइहाल्ने अवस्था नदेखिएको बताए । ‘महामारीको त्रासका कारण दिन–दिनै परिस्थिति फेरिन सक्ने अवस्था छ, यदि सबै कुरा सामान्य रह्यो भने यो आर्थिक वर्षमा तीन महिना अझै हामीसँग काम गर्ने समय छ,’ शर्माले भने, ‘यो वर्षमा लक्ष्यअनुसार राजश्व पनि नउठ्ने खर्च पनि नहुने त प्रष्ट नै भइसक्यो । त्यसैले कोरोनाविरुद्धको लडाइँमा आर्थिक स्रोतको अभाव हुँदैन भन्ने हाम्रो अपेक्षा छ ।’

सकेसम्म कोरोनाविरुद्ध खडा गरिएको कोषबाटै आवश्यक खर्च गर्ने योजना सरकारको छ । तर, महामारीबाट उत्पन्न असरसँग लड्न छुट्टै कार्यक्रमहरु ल्याउने गृहकार्य छ ।

सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उद्दार गर्न विभिन्न दातृ निकायले दिन लागको करिब २२ अर्बको वैदेशिक ऋण पनि स्वीकार गर्ने निर्णय गरिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गत आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनेसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै, वार्षिक बजेटबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्ने निर्णय पनि भइसकेको छ ।

तपाईको प्रतिक्रिया