भोलिदेखि धनगढीमा पनि कोरोना परीक्षण सुरु

  चैत १९, २०७६

कैलाली, चैत १९ : सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो ।

प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ । पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।

६४ मोटरसाइकल नियन्त्रणमा
धनगढीमा लकडाउन उल्लङ्घन गरी चलाइएका ६४ वटा मोटरसाइकलहरु मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लङ्घन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया