‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना

  चैत १९, २०७६

काठमाडौँ, चैत १९ : लकडाउन घोषणा भएको ८ दिनपछि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरमा कार्यालय रहने गरी ‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकबाट मंगलबार दिउँसो टिम गठन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्व रहेको टिममा स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. रोशन पोखरेल र नेपाली सेनाका उपरथी सदस्य छन् ।

टिमअन्तर्गत बन्दोबस्ती, अपरेसन, सूचना तथा सञ्चार र सुरक्षा तथा कानुन गरी ४ वटा उपसमिति पनि गठन भएको छ। उपसमितिमा चारवटै सुरक्षा निकायका अधिकारी, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र आवश्यकताअनुसार अन्य मन्त्रालयका प्रतिनिधिलाई उपसमितिमा समावेश गरिने छ।

सरकारले आइबार कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको थियो।

त्यस्तै प्रदेश र स्थानीय तहमा पनि सोहीअनुसार मुख्यमन्त्री र स्थानीय तहका प्रमुखको अध्यक्षतामा सेन्टर स्थापना गर्ने निर्णय भएको थियो। सीसीएमसीका निर्णय कार्यान्वयन गर्न एक्सन टिम बनेको हो। कार्यान्वनका लागि ४ वटा उपसमिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए।

एक्सन टिमले जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई आवश्यकताअनुसार परिचालन गर्न समन्वय गर्ने छ। ‘एक्सन टिम अन्तर्गत काम हुने गरी ४ वटा छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ,’ सचिव कोइरालाले भने, ‘स्वास्थ्य सामग्री तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी समन्वय गर्न बिरामीलाई घरबाट अस्पतालसम्म ल्याउने/पुर्‍याउने, सूचना सम्प्रेषण तथा अन्य कार्यसञ्चालनका लागि यी उपसमितिहरुले काम गर्नेछन्।’

र्‍यापिड रेस्पोन्स टिम पनि अपरेसन र कानुन तथा सुरक्षा व्यवस्थापन समितिअन्तर्गत परिचालन गरिने उनले बताए। सचिव कोइरालाका अनुसार सीसीएमसीले दिएका निर्देशन मुख्यसचिवको समितिले कार्यान्वयनका लागि सहजीकरण गर्ने छ। त्यसका आधारमा एक्सन टिमले काम गर्ने छ।

तपाईको प्रतिक्रिया