कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन

  चैत १८, २०७६

कीर्तिपुर, १८ चैत : कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका १० वटा वडामा क्यारेन्टाइन बनाइएको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका क्षेत्रमा रहेको त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ । कोभिड–१९ बारेको सचेतनाका लागि टोलटोलमा साबुन पानी र स्यानिटाइजर तथा नगरभित्र रहेका स्वास्थ्यकर्मीका लागि ३० थान पिपिई आफँैले निर्माण गरेर वितरण गरिसकिएको जानकारी दिनुभयो । ‘हामीले नगर क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न आग्रह गर्दै जनचेतनामूलक सन्देश माइकिङ तथा पर्चामार्फत दिएका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले बजार अनुगमनलाई पनि तीव्र बनाएका छौँ ।’

लकडाउनका अवधिमा कसैले कालोबजारी गरेको भेटिएमा कानूनबमोजिम कारवाही गर्ने समेत चेतावनी दिइएको बताउँदै उहाँले हाल नगरपालिकासँग करीब तीन महिनालाई पुग्ने चामल, दाल तथा तेल पर्याप्त मात्रामा मौज्दात रहेको जिकिर गर्नुभयो । बजारमा एभरेष्ट, नेपाल र बाबालगायत खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताबाट गुनासो आएको पनि अन्य खाद्य पदार्थको तत्काल समस्या नरहेको स्पष्ट गर्नुभयो ।

नगरपालिकाले विदेश तथा अन्य स्थानबाट आएकाहरुलाई होम क्यारेन्टाइनमै बस्न निर्देशन दिएको छ । लकडाउनका अवधिमा नगरपालिकामा रहेका सात स्वास्थ्यचौकी, तीन शहरी स्वास्थ्य केन्द्र तथा कीर्तिपुर अस्पताल र विष्णुदेवी अस्पताल खुुल्ला राख्न निर्देशन दिइएको पनि प्रवक्ता रिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया