रामेछापमा जिप दुर्घटना, ३० जना घाइते

  चैत १८, २०७६

रामेछाप, चैत १८ : रामेछापको खांडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडादेवी गाउँपालिका १ माझीगाउँस्थित सडकबाट करिब १ सय ५० मिटर खसेको हो ।

दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनामा परेका २७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पौडेलले जनाए। दुर्घटनामा सामान्य घाइते भएका चालकसहित ३ जनाको स्थानीय लुभुघाटमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिपमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्‍न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

तपाईको प्रतिक्रिया