बार्सिलोनाका खेलाडीले तलबको ३० प्रतिशत मात्रै लिने

  चैत १८, २०७६

बार्सिलोना, चैत १८ : लियोनल मेसीले बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बेला क्लबलाई आर्थिक रूपमा सहयोग गर्न खेलाडीले यो निर्णय गरेका हुन् ।

आफ्नो इन्स्ट्राग्राम एकाउन्टमा लामो सन्देश छोड्दै मेसीले क्लबका अध्यक्ष जोसेप मारिया र उनको नेतृत्वमा रहेको बोर्डको पनि आलोचना गरेका छन् । उनका अनुसार बोर्डले खेलाडीको भावना नै बुझ्न सकेन् ।

स्पेनका अन्य क्लबका खेलाडीले पनि आफ्नो पूरा तलब बुझ्ने छैनन् । कोरोनाको माहामारीका कारण अधिकांश स्पेनी क्लबको आर्थिक स्थिति कमजोर भएको छ ।

मेसीले लेखेका छन्, ‘अब समय आएको छ, यो विषम परिस्थितिमा हामी खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने । यस्तो गर्दा क्लबका अरू कर्मचारीले शतप्रतिशत तबल पाउने छन् ।’

उनको सन्देशलाई तत्काल अन्य खेलाडीले पनि आफ्नो एकाउन्टमा सेयर गरेका छन् । त्यसपछि क्लबले पनि औपचारिक रूपमा खेलाडीले तलब काटेर लिन मानेको जनाएको छ ।

तपाईको प्रतिक्रिया