भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

  चैत १७, २०७६

ललितपुर, चैत १७ : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए ।”

कोभिड –१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ । मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्काे साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया