कोरोनाविरुद्ध एक करोडको कोष स्थापना

  चैत १७, २०७६

जलेश्वर, चैत १७ : विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि कोरोनाविरुद्ध महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ ।

सोनमा गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन तथा सङ्क्रमणबाट बाँच्न र बचाउनका लागि रु एक करोडको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।

उहाँले त्यस गाउँपालिकाको प्रत्येक वडाको प्रत्येक गाउँठाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम भइरहेको, जनप्रतिनिधिहरु गाउँगाउँमा घुमिरहेको तथा स्थानीय बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउनका लागि आवश्यक सरसल्लाह दिइरहेको अध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी सोनमा गाउँपालिकाको क्षेत्रभित्र कसैलाई कोरोना भाइरसको सङ्क्रमण वा लक्षण देखिएमा उनीहरुलाई छुट्टै व्यवस्थित रुपमा राख्नका लागि वडा नं. ३ स्थित खखना माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइनसमेत निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष यादवले अहिले आफ्नो गाउँपालिका पूर्णरुपमा सुरक्षित रहेको तथा कोरोनाको विरुद्ध लड्न आफू तथा आफ्ना सम्पूर्ण जनप्रतिनिधि तयार अवस्थामा रहेको बताउनुभयो । सोनमा गाउँपालिका जिल्लाकै विकट गाउँपालिका रहे पनि गाउँपालिका अध्यक्ष यादवको विभिन्न पहलमा सो गाउँपालिका स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको छ ।

तपाईको प्रतिक्रिया