धरानको बिपी कोइरालाबाट कोरोना परीक्षण शुरु, हेटौडाबाट पनि हुने

  चैत १७, २०७६

धरान, चैत १७ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो ।

अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हँुदै आएको थियो । सरकारका सातवटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिनुभएको थियो ।

प्रतिष्ठानले हालसम्म कोरोना बिमारीको उपचार गर्न गरिएको व्यवस्थापनबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरुप्रसाद घिमिरेले जानकारी गराउनुभयो । कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराउनुभयो । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिनुभयो ।

हेटौँडाबाट पनि कोराना भाइरसको परीक्षण हुने
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो ।

यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने बताइएको छ । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताउनुभयो । सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको बताउनुभयो । मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार पारेको उहाँले बताउनुभयो । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण छ ।

मकवानपुरमा सघन उपचारकक्षसहित ३५ श्यया आइसोलेसन तयार भइसकेको र ७० श्यया तयार हुँदै गरेको, सिन्धुलीमा पाँच श्यया तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० श्यया तयार भएको, दोलखामा १७ श्यया, सिन्धुपाल्चोकमा १७ श्यया, भक्तपुरमा २१, काभ्रेमा २० श्यया तयार भएको छ ।

प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया